ट्रेण्डिङ

होमपेज / समाज

मानवअधिकार हननका घटना कम गर्न सबै प्रतिवद्ध भएर लाग्ने सरोकारवालाहरुको भनाई

  सल्यान खबर डेस्क २०७७ मंसिर २५ गते बिहीबार १९:५०:४० मा प्रकाशित

मंसिर २५ सल्यान ।मानवअधिकार हननका घटना कम गर्नका लागी अझैँ प्रतिवद्ध भएर लाग्ने जिल्लामा आयोजित एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । पछिल्लो पटक पीडित लाई न्याय दिलाउनको लागि जिल्लामा सरोकारवालाहरु को भुमिका प्रशंसनीय भएको र जसको फलस्वरूप न्यायमा पहुँच बढ्दै जाँदा पनि घटना कमी हुदै गएको सहभागीहरुले बताए ।

इन्सेक नेपालको आयोजनामा सल्यान सदरमुकाम खलंगामा आयोजित वर्ष पुस्तक २०२१ का लागी संकलन गरिएका मानव अधिकार उल्लंघनका घटनाको वार्षिक पुर्व समिक्षा तथा पुर्नपुष्टि कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्लेले पीडित मात्रै नभएर आरोपित को समेत न्यूनतम ग्यारेन्टी हुने गरी काम गरिरहेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुले मानवअधिकार हनन को घटनाका कारक तत्व पत्ता लाई जनचेतना जगाउन आवश्यक रहेको उनको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले न्यायिक प्रक्रिया पछि पनि पीडितलाई सामाजिक पुनर्मिलनको लागि निरन्तर फलोअप हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले प्रहरीले मानवअधिकार हनन नहुने गरी काम गरिरहेको बताउनु भयो । स्थानीय तहमा भएका न्यायिक निकायलाई अझै प्रभावकारी र विश्वसनीय बनाउने हो भने यस्ता घटना अझै कम हुने उनको भनाई छ  ।

नेपाल बार एसोसिएसन सल्यानका अध्यक्ष लाल बहादुर रावत ले कानुनी प्रकृया अहिले पनि झन्झटिलो भएकोले यसलाई अझै छिटो छरितो बनाएमा पीडितलाई छिटो न्यायको अनुभूति हुने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल की अध्यक्ष सोवित बस्नेतले मानव अधिकार को रक्षाको लागि इन्सेक ले जिल्लामा प्रशंसनीय भूमिका खेलेको बताए ।

कार्यक्रममा सल्यानमा मानव अधिकार उलंघनका घटनामा कमी आएको भएपनि बलात्कारको स्थीति भयावह रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सदरमुकाम खलंगामा ५६ वटा मानव अधिकार हननका घटनाको तथ्यांक सार्बजनिक गर्दै ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले विगतका वर्षहरुमा भन्दा यस बर्ष मानव अधिकार उलंघनका घटनामा कमी आएको जानकारी दिनुभयो । जसमा सबै भन्दा धेरै बालअधिकारका २४ वटा घटना घटेका छन् ।

यस्तै महिला अधिकारका २२ वटा, भौतिक संरचना क्षतीका ४ वटा, नागरिक तथा सामाजिक अधिकारका ४ वटा र बाँचन पाउने अधिकारका २ वटा रहेका छन् । वर्षभरीको तथ्यांकलाई हेर्दा बलात्कारका घटना धेरै भएको बुढाथोकीले जानकारी दिनुभयो । जसअनुसार जिल्लामा २४ वटा बालिका तथा महिला बलात्कारका घटना घटेका छन् ।

यस्तै बालबिवाह र बहुबिवाहका घटना ४÷४ वटा, बोक्सी आरोप र आगजनीका घटना ३÷३ वटा घटना घटेका छन् । यस्तै बलात्कार प्रयास, गिरफ्तार, चन्दा संकलनका २÷२ वटा घटना रहेका छन् । यस्तै कुटपिट, ज्याला विभेद, बालिका अलपत्र, बालिका बेवारिसे, शिक्षाबाट बञ्चित, सम्पत्ती क्षती, हत्या र बालिका हत्या १÷१ वटा घटना भएका छन् ।

यस्तै पालिका अनुसार सबै भन्दा धेरै घटना शारदा नगरपालिकामा भएका छन् । जसअन्र्तगत शारदा नगरपालिकामा १८ वटा, बागचौर र बन्गाड कुपिण्डे नगरपालिकामा ७÷७ वटा घटना भएका छन् । यस्तै त्रिबेणी र कुमाख गाउँपालिकामा ५÷५ वटा, कालीमाटी र कपुरकोट गाउँपालिकामा ४÷४ वटा र छत्रेश्वरी, सिद्ध कुमाख तथा दार्मा गाउँपालिकामा २÷२ वटा घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

बुढाथोकीले जिल्लामा क्रियाशिल बिभिन्न निकायहरुले सचेतनाका अभियान सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको बताउनुभयो । कोरोना भाइरसको रोकथामको लागी सरकारले गरेको लकडाउनको अबधिमा पनि बलात्कारका घटना बढी भएको उनको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top