ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा हराउन थाले परम्परागत ढिकी जाँतो

  सल्यान खबर डेस्क २०७७ मंसिर १४ गते आइतबार १४:३६:५५ मा प्रकाशित

मंसिर १४,सल्यान 
जिल्लाका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतोको प्रयोग हुन छाडेको छ । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी जाँतो लोप हुँदै जान थालेका छन् । अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जाँतो विस्थापित हुँदै जान थालेका छन् । 

विद्युत र मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने ढिकी जाँतोको प्रयोग हुन छाडेको दार्मा गाउँपालिका ३ का भोटु खत्रीले बताए । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै पिसिदिने भएपछि सहज भएको उनको भनाई छ । 

केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, कोदो, पिठो पिस्नका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधन थन्किएको कुमाख गाउँपालिका ५ का नेत्र घर्तीले बताए । एक दुई दशक अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्यो तर मिल आएपछि सजिलो भएको छ । 

आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि क्रमिक रुपमा ढिकी र जाँतोको प्रयोग कम हुन थालेको छ । मिलमा एकैछिनमा अन्न पिसिदिन्छ, ढिकी जाँतोमा घण्टौंसम्म समय र जनशक्तिको नाश हुने हुँदा मिलमा समय र श्रम दुवैको बचत हुने भएको घर्तीको भनाई छ । बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँद्धरका ढिकीजाँतो लोप हुने क्रममा रहेका छन् । आधुनिक गाउँसम्म पुगेपछि ढिकी जाँतो जस्तो परम्परागत शैली र पहिचान ओझेलमा पर्दै गएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top