होमपेज / समाज
कात्तिक १८, सल्यान
संरक्षणको अभावमा जिल्लाको चिनारी बोकेको कछुवा दह ओझेलमा पर्नुका साथै पुरिँदै जान थालेको छ ।
जैविक विविधताले भरिपूर्ण दह आवश्यक संरक्षणको अभावमा पुरिँदै जान थालेको हो । कालीमाटी गाउँपालिका वडा न २ मजाउमा रहेको कछुवा दह आसपासका डाँडाबाट बगेर आउने माटोको बहाव र बाढ पहिरोले गर्दा जिल्लाको ठुलो दह पुरिँदै गएको छ ।
अव्यवस्थित रुपमा खनिएका मोटर बाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिँदै गएपछि कछुवा दहको अस्तित्व सङ्कटमा परेको हो । ताल संरक्षण तर्फ सम्बन्धित निकायले मौन बस्दा आन्तरिक तथा बाह्रय पर्यटक समेत घट्न थालेको स्थानीयहरूको भनाई रहेको छ । दह नजिकै बाटो मोटर बाटो लिँदा दह झनै बढी पुरिएको स्थानीय तिला केसीले बताइन । उनले भनिन ‘आजभोलि विकास गर्ने नाममा प्राकृतिक सम्पदामा के कति असर पर्छ भनी ख्यालै नगरी खन्ने क्रम बढ्दो छ जसको असर कछुवा दहमा पनि देखिँदै आइरहेको छ ।’ दह भएको ५ मिटर नजिकबाट मोटर माटो खन्दाको सम्पूर्ण माटो दहमा प¥यो जसले गर्दा दह आजभोलि भैँसी खाली बस्ने पोखरी जस्तो देखिन थालेको छ ।
संरक्षण अभावका कारण १ सय ५० मिटर लम्बाइमा खुम्चिन पुगेको दह यथाशक्य कुनै कदम नचाल्ने हो केही वर्षमै लोप भएर जाने सम्भावना रहेको छ । सल्यान जिल्लाकै एवं कालीमाटी रामपुर गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि कछुवा दह संरक्षण तर्फ सबै पक्ष उत्तिकै उत्तरदायी हुनु पर्ने कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । उनले भने ‘कछुवा दह एक दह मात्र नभएर यसले प्राकृतिक तथा धार्मिक महत्त्व पनि बोकेको छ । संरक्षणको अभावमा ओझेलमा परेको दहलाई गाउँपालिकाकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ ।’
यस दह नजिकै देउती बज्यूको मन्दिर समेत रहेको छ । उक्त मन्दिर समेत आवश्यक संरक्षणको अभावमा जीर्ण बनेको छ । यस मन्दिरमा चिताएको पुरा हुने जनविश्वास रहेको छ । यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रिको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ ।
दहको अवलोकन गर्न दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया क्षेत्रबाट आउने गर्दछन् । यस दहसँगै धार्मिक महत्त्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।





.jpg)