होमपेज / समाज
कात्तिक १७, सल्यान
जिल्लाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा हुने भएपछि ग्रामीण क्षेत्रका यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो ।
गाई भैँसीको गोबरबाट ग्याँस बाल्नुका साथै मलको रुपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानहरूले दोहोरो फाइदा देखेर गोबर ग्याँस प्रविधि रुचाएका हुन । ग्रामीण भेगमा बिजुली बत्ती नपुगेको र ग्याँस किन्न पर्याप्त मात्रामा पैसाको अभाव भएका कारण गोबर ग्यास बढी प्रभावकारी मानिएको छ ।
कम आयस्रोत भएका व्यक्तिहरूका लागि पैसा बचत हुनुका साथै घरको पनि सरसफाइ हुने भएको गोबर ग्याँस प्रविधि निकै प्रभावकारी भएको कालीमाटी गाउँपालिका वडा न २ चौकी बजारका पूर्ण प्रसाद खनालले बताए । उनले भने गोबर ग्यास बाल्न सुरु गरेपछि दाउराको बचत हुनुका साथै दाउरा खोज्न जाने समयको बचत भएको छ । खाना पकाउन छिटो छरितो हुन्छ । घरमा र भाँडामा धुलो धुवाँ लाग्दैन जसका कारण स्वास्थ्यमा पनि सुधार आएको छ ।
गोबर ग्यास प्रयोग हुन थालेपछि धुवाँको समस्याबाट समेत राहत मिलेको झिगानेकी भीम कुमारी सापकोटाले बताइन । उनले भनिन साँझ बिहान दाउराको प्रयोग गर्दा धुवाँका कारण अाँखा केही पनि देखिँदैनथे । उमेर नपुग्दै आँखा बस्छकी के हो जस्तो लागेको थियो तर गोबर ग्यास बाल्न थालेपछि म जस्ता धेरै महिलाहरूले धुवाँबाट हुने असरबाट बाँच्न सफल भएका छन् ।
दिनमा ५ देखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा बिहान दिउसो र बेलुका खाना नास्ता बनाउन सकिने उनको भनाई छ । ग्याँसमा प्रयोग भएको मल बालीनालीमा हाल्दा बढी लाग्ने गरेको समेत उनको भनाई रहेको छ । गोबर ग्यास प्रयोग गर्न थालेपछि घरमा बनबाट दाउरा ल्याउनु पर्ने समस्या कम भएको बताउँदै गर्भवती महिला , बृद्धबृद्धा तथा बालकालिकाहरुको लागि निकै सहज भएको सापकोटाले बताइन ।
गोबर ग्यास निमार्ण लागि सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेका छन् ।





.jpg)