होमपेज / समाज
असोज ८, सल्यान
स्याङ्जा र पाल्पा पहिरोमा परी १४ जना बेपत्ता भएका छन् । स्याङ्जामा ६ जना र पाल्पामा ८ जना बेपत्ता भएका हुन ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए। घरमा सुतिरहेको अवस्थामा गएराति २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो। पहिरोले दुईवटा घरमा क्षति पुगेको छ।
पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता
यस्तै पाल्पाकाे रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो।
हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए। उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्। तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्।
अहिले स्थानीयले उद्दार गरिरहेका छन्। घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। अहिले आफूहरू पैदल जाँदै गरेको उनले बताए। त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने उनले बताए। बाटोमा डोजर परिचालन गरेर सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए। यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको अध्यक्ष भण्डारीले बताए।





.jpg)