ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुपाल्चोक पहिरो : २८ घरका कम्तीमा ३५ जना पुरिए, नौ घाइते

  सल्यान खबर डेस्क २०७७ श्रावण ३० गते शुक्रबार १२:५३:१७ मा प्रकाशित

सिन्धुपाल्चोककाे जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोमा परेर कम्तीमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौजना घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर ल्याउने तयारी गरिएको नेकपाका नेता रेसम स्याङ्बोले जानकारी दिए । घटनास्थल आसपासमा बाक्लाे कुहिरो लागेकोले हेलिकोप्टर ल्याउन गाह्रो परिरहेकाे उनले बताए । 

गाउँको बीचभागबाट खसेकाे पहिरोले कति घर पुरिए भन्नेबारे अझै यकिन हुन सकेको छैन । उद्धारमा खटिएका स्थानीय निराज तामाङले दिएको जानकारीअनुसार २८ घरमध्ये २२ घरमा रहेका कम्तीमा ३५ मानिस पहिराेमा पुरिएका छन् । 

‘भीषण पहिरो भएकोले उत्खनन् गर्न कठिन परिरहेकाे छ,’ उनले भने, ‘अहिलेसम्म उत्खनन् गर्दा एकजनाको हात मात्रै फेलापरेको छ ।’

उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुग्दै छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । वडाध्यक्ष प्रताप लामाका अनुसार प्रतिघरधुरी कम्तीमा तीनदेखि पाँचजना मानिस बसाेवास गर्थे । पहिरोमा परेर ठूलो जनधनको क्षति भएको उनकाे अनुमान छ ।   

उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिकेमा रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न पैदल तीन घन्टा लाग्छ । जनप्रतिनिधि गाउँमै भए पनि पैदल हिँडेर लिदी पुग्न पूरा एक दिन लाग्छ ।

०७२ काे भूकम्पपछि गाउँ नै पहिरोको उच्च जोखिममा परेको भूगर्भविद्को अध्ययनले देखाएको थियो । तर, सुरक्षित ठाउँमा गाउँ स्थानान्तरण हुन नसक्दा एक सय ७२ घरधुरी रहेको लिदीका बासिन्दा त्रासमा बसिरहेका थिए । घटनाकाे पूर्ण विवरण आउन बाँकी नै छ ।

Naya patrika

प्रतिक्रिया

सम्बन्धित खवर

Top