होमपेज / प्रबिधि
संसारको दोस्रो ठूलो स्मार्टफोन निर्माता चिनियाँ कम्पनी हुवावेविरूद्ध अमेरिका आक्रामक रूपमा अघि बढेको छ।
आफ्ना विभिन्न निकायले गरेको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा अमेरिकाको जस्टिस डिपार्टमेन्टले हुवावेविरूद्ध बैंकिङ जालसाजी, न्यायमा अवरोध, इरानमाथि लगाइएको प्रतिबन्धको उल्लंघन, प्रविधि चोरीलगायत आरोप लगाएर सोमबार मुद्दा हालेको छ।
‘गैरकानुनी गतिविधि गर्न अमेरिकी आर्थिक प्रणालीको प्रयोग गरी कैयौं वर्षदेखि चिनियाँ कम्पनीले हाम्रो निर्यात कानुनलाई उल्लंघन गर्दै प्रतिबन्धलाई अवमूल्यन गरेको थियो अब त्यो अन्त्य हुनेछ,’ अमेरिकी वाणिज्य मन्त्री विल्बर रसले संवाददाहरूसँग भने।
इरानसँग व्यापार गर्न हुवावेले अमेरिका र विश्वका केही बैंकलाई दुई सहायक कम्पनी; हुवावे डिभाइस युएसए र स्काइकमसँग आफ्नो सम्बन्धबारे गलत जानकारी दिएको अमेरिकाको आरोप छ।
हुवावेमाथिको अर्को आरोप स्मार्टफोनको अवधि परीक्षण गर्न उसले टी मोबाइल टेक नामको कम्पनीबाट प्रविधि चोरेको भन्ने छ।
‘यी अभियोगहरूले प्रष्ट रूपमा देखाउँछन् कि हुवावेले कसरी हाम्रो देशको कानुन र विश्व व्यापारका अभ्यासलाई उल्लंघन गरेको थियो,’ एफबिआईका निर्देशक क्रिस्टोफर व्रेले भने।
उनले हुवावेजस्ता कम्पनीले एकातिर आर्थिक र अर्कातिर राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने बताए।
हुवावे संसारकै ठूलो टेलिकम्युनिकेशन इक्वुपमेन्ट निर्माता कम्पनी हो। केहीदिन अघिमात्र अमेरिकाको एप्पल कम्पनीलाई तेस्रोमा धकेल्दै दोस्रो ठूलो स्मार्ट फोन निर्माता कम्पनी बनेको छ। दक्षिण कोरियाको सामसङ कम्पनी पहिलो नम्बरमा छ।
संसारको पहिलो र दोस्रो अर्थतन्त्रका रूपमा रहेका अमिरका र चीनबीच भविष्यको प्रभुत्वका लागि तीव्र प्रतिष्पर्धा छ। त्यो प्रभुत्वमा प्रविधिले प्रमुख भूमिका खेल्नेछ। टेलिकम क्षेत्रमा नेतृत्व लिने चिनियाँ आकांक्षा धेरै हदसम्म हुवावेमा निर्भर गरेको छ।
टेलिकम्युनिकेशनको अर्को पुस्ताको फाइभजी प्रविधि विस्तारमा हुवावेले अमेरिकी कम्पनीहरूसँग तीव्र प्रतिष्पर्धा गरिरहेको छ। संसारभरि फाइभजी प्रविधि विस्तार जुन कम्पनीले गर्न सक्यो त्यसले आर्थिक, प्राविधिक, सामरिक सूचनामा पकड राख्ने विश्लेषकहरूले बताएका छन्।
विकसित देशहरूमा हुवावेले फाइभजी विस्तारको काम नपाओस् भनेर अमेरिकाले भगिरथ प्रयत्न गरिरहेको छ। अमेरिकामा सरकारी कम्पनीहरूले हुवावेको कुनै पनि प्रविधि प्रयोग गर्न पाउँदैनन्। निजी कम्पनीहरूलाई पनि हुवावेको प्रविधि प्रयोग रोक्न अमेरिकाले नयाँ कानुन बनाउन लागेको छ।
हुवावेको फाइभजी प्रविधि प्रयोग नगर्न अमेरिकाले आफूनिकट मुलुकहरूसँग लविङ गर्दै आएको छ।
भर्खरैमात्रै अमेरिकी अधिकारीहरूले नाटो सदस्य मुलुक बेलायत, जर्मनी र पोल्याण्डसँग त्यस्तो लविङ गरिसकेको छ।
अष्ट्रेलिया,न्युजिल्याण्ड, जापानलगायत मुलुकले हुवावेको फाइभजी प्रविधिलाई रोक लगाइसकेका छन्।
मेङ र हुवावे भने अमेरिकाले लगाएका आरोपलाई अस्वीकार गर्दै आएका छन्।
मेङ अमेरिकाको अनुरोधमा क्यानडाको भ्यानकुभरबाट डिसेम्बर १मा पक्राउ परेकी थिइन्। केही दिनपछि उनी धरौटी भइन् तर क्यानडेली अधिकारीहरूले उनलाई कडा निगरानीमा राखेका छन्।
कार्यवाहक महान्यायाधीवक्ता म्याथ्यु वाइटकरले अब मेङलाई क्यानडाबाट सुपुर्दगी गर्न औपचारिक पत्र पठाउने बताएका छन्।
‘समयसीमाभित्र सुपुर्दगी सन्धीअनुसार चाहिने सबै कागजात संलग्न गरेर हामी उनलाई सुपुर्दगी गर्न क्यानडालाई औपचारिक पत्र पठाउँदैछौ,’ वाइटकरले भने।
क्यानडाले मेङलाई सुपुर्दगी गर्ने पत्र पठाउन अमेरिकालाई बुधबारसम्मको समय दिएको थियो।
अमेरिकाको यो कदमले चीन र अमेरिका सम्बन्धका साथै हुवावेको विश्वव्यापी प्रभाव विस्तार गर्ने अभियानमा पनि तनाव उत्पन्न हुने देखिएको छ।
युद्धविरामको अवस्थामा रहेको अमेरिका र चीनको व्यापार युद्धबारे कुरा गर्न चिनियाँ अधिकारीहरू वासिङ्टन पुग्नु केही दिनअघि अमेरिकाले चालेको यो कदमले वार्तामा प्रभाव पार्ने बताइएको छ।
तर अमेरिकी अधिकारीहरूले भने मेङको मुद्दा र चीनसँगको व्यापार वार्ता फरक विषय भएकाले आपसमा नजोडिने बताएका छन।
मेङ हुवावेका संस्थापक तथा शक्तिशाली चिनियाँ उद्यमी रेन जेङफेईकी छोरी हुन्। उनको पक्राउलाई चीन सरकारलाई निकै आक्रोशित बनाएको छ। मेङ पक्राउको बदलामा चीनले दुई क्यानडेली नागरिकलाई पक्राउ गरिसकेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले चिनियाँ कम्पनीलाई न्यायीक र तथ्यपूर्ण व्यवहार गर्न भनेको छ।





.jpg)