होमपेज / पत्रपत्रिकाबाट
संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । नागरिक दैनिकले आज केही समयदेखि चर्चामा रहेको आत्महत्या दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण भएको समाचार बनाएको छ ।
नागरिकका अनुसार कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरूपणको जटिलता बढ्दै गएको छ ।
एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन । कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे ब्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण देखिएको नागरिक समाचारमा उल्लेख छ ।