होमपेज / अर्थ
असार ४, सल्यान
सरकारले सल्यानको चुनढुंगा उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले सल्यानमा रहेको चुनढुंगा उत्खनन गर्ने भएको हो ।
पाँच वर्गमिटरमा फैलिएको चुनढुंगा उत्खनन गर्न अध्ययनका लागि अनुमित प्रदान गर्न सूचना आह्वान गरिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।
उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ । उत्खननका लागि दशदेखि तीस वर्षसम्म प्रदान गरिने महानिर्देशक घिमिरेको भनाई छ ।
शारदा नगरपालिकामा रहेको खामेलेकको चुनढुंगाले निर्यात गर्न विभिन्न सिमेन्ट उद्योगले दौडधुम गरी रहदा खानी तथा भूगर्भ विभागले उत्खननका लागि सुचना जारी भएसँगै सल्यानबासीमा खुशीयाली छाएको छ ।
सरकारले सल्यान सहित विभिन्न दश स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गर्ने भएको छ । विभागले सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमित प्रदान गर्न सूचना आह्वान गरेको छ ।
विभागका अनुसार रोल्पाको सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न सूचना आह्वान गरिएको छ। यो क्षेत्रमा करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ। त्यसैगरी धादिङ, मकवानपुर र उदयपुरमा रहेका तामाखानी र पाल्पामा रहेको कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको छ।
त्यसैगरी धादिङमा ५ दशमलव ३२ वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गा खानी, मुस्ताङमा दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिएको नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिएको विभागले जनाएको छ।
अन्वेषण तथा उत्खननका लागि इच्छुक कम्पनीहरूले पेस गरेका प्राविधिक तथा आर्थिक प्रस्तावहरूमध्ये सबैभन्दा पहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ, प्राविधिक प्रस्तावको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने छ।





.jpg)