ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा एक हजार २५९ जनालाई राहत वितरण

  सल्यान खबर डेस्क २०७७ बैशाख ३ गते बुधबार १६:१६:५९ मा प्रकाशित

वैशाख ३,२०७७  सल्यान 
सल्यानका विभिन्न स्थानीय तहहरूले दैनिक ज्यालादारी , मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरेका छन् । जिल्लाका तीन स्थानीय तहले एक हजार २ सय ५९ लाई राहत वितरण गरेका छन् । 


लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गरिएको स्थानीय तहरुले बताएका छन् । शारदा नगरपालिकाले ८ सय ५६, सिद्ध कुमाख गाउँपालिकाले २ सय ७५ र कपुरकोट गाउँपालिकाले १ सय २८ जनालाई राहत वितरण गरेका छन् । 


असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भई रहेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए । वडा स्तरबाट सङ्कलनभएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको उनको भनाई छ । 


लगातारको लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरूलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए ।  वितरण प्रक्रियालाई एकद्धार प्रणालीबाट लागु गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन् र नदोहोरिउन् भन्नेमा गाउँपालिका सचेत रहेको उनको भनाई छ । 
अन्य स्थानीय तहहरूले राहत वितरणको तयारी गरी रहेका छन् । राहत वितरणका लागि अहिले तथ्याङ्क सङ्कलन तथा छानबिन भइरहेको स्थानीय तहहरूको भनाई रहेको छ । 
राहत लिनका लागि वडा वडाबाट लगत सङ्कलन गरिएको र जनप्रतिनिधिहरूको रोहबरमा खाद्यान्न सामाग्री वितरण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए । 
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेका कारण मानिस घर बाहिर निस्किन नपाएको उनको भनाई छ । 


आफ्नो आयस्रोत र जायजेथा नभएका, अरूको सहयोग तथा साहारमा बस्दै आएका, व्यक्ति, घरका कुनै पनि व्यक्तिले रोजगारी नभएका, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ धौ पर्ने व्यक्तिहरू र वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्तिलाई राहत वितरण गरी रहेको स्थानीय तहहरुले दाबी गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top