ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा दुई करोडभन्दा बढीका बिरुवा बिक्री

  सल्यान खबर डेस्क २०८२ श्रावण १० गते शनिबार १२:४३:०५ मा प्रकाशित

सल्यानका किसानले एकै सिजनमा दुई करोड रुपैयाँभन्दा बढी मूल्यका बिरुवा बिक्री गरेका छन् । कृषि विकास कार्यालय सल्यानका अनुसार असार मसान्तसम्म किसानले सुन्तला, कागती, ओखर र किवीका गरी तीन लाख ९३ हजार बिरुवा बिक्री गरेका हुन् ।

व्यावसायिक रूपमा नर्सरी सञ्चालन गरिरहेका करिब २५ जना किसानले उत्पादन गरेका बिरुवा जिल्ला र जिल्लाबाहिर बिक्री भएको हो । ५७ हजार चार सय ५० बिरुवा जिल्लामा खपत भएका छन् भने बाँकी तीन लाख २५ हजार पाँच सय ५० बिरुवा जिल्लाबाहिर निकासी भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए । सल्यानबाट जाजरकोट, कालीकोट, दैलेख, बाजुरा, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, कास्कीलगायतका जिल्लामा विभिन्न प्रजातिका बिरुवा जाने गर्छन् ।

सल्यानमा सबैभन्दा धेरै सुन्तलाका बिरुवाको माग रहेको उनले बताए । जिल्लाभित्र ३४ लाख ३५ हजार तीन सय रुपैयाँबराबर र जिल्लाबाहिर एक करोड ९४ लाख ६६ हजार सात सय रुपैयाँबराबरका बिरुवा निकासी भएको उनले जानकारी दिए । यसमध्ये करिब दुई लाखभन्दा बढी बिरुवा सुन्तलाका रहेका छन् । कृषि विकास कार्यालय र स्थानीय तहहरूको समन्वयमा नर्सरी व्यवसायलाई प्राथमिकता दिँदै आएको घर्तीले बताए ।

‘प्लास्टिक टनेल निर्माण, सिँचाइ पोखरी निर्माणलगायत सहयोग गरेका छौँ,’ सूचना अधिकारी घर्तीले भने । उत्पादनभन्दा माग बढी हुँदा कम गुणस्तरीय बिरुवा पनि बेच्न सक्ने अवस्थालाई ध्यान दिँदै सजग रहन आग्रह गरिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top