ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान छत्रेश्वरीमा मेसिन र कपडा सहित युवा महिलाहरूलाई कटाई सिलाइको पुनर्ताजकी तालिम

  सल्यान खबर डेस्क २०८२ जेठ ३० गते शुक्रबार १९:४३:५३ मा प्रकाशित

सल्यान, ३० जेठ ।

युवा महिलाहरूको आधारभूत कटाई सिलाई सिपलाई थप सुदृढ गर्दै व्यवसायतर्फ लैजानका लागि सल्यानमा एक महिने तालिम सञ्चालन गरिएको छ । सिलाई मेसिन तथा अन्य सामग्रीहरू उपलब्ध गराउँदै जिल्लाको छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका महिलाहरूका लागि कटाई सिलाई सम्बन्धी एक महिने पुनर्ताजकी तालिम प्रदान गर्न लागिएको हो । 

छत्रेश्वरी गाउँपालिकाको समन्वयमा, आइएम स्विडिस डेभलपमेन्ट पार्टनर र दलित विकास समाज सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर ४ स्थित हारिचारमा बिहीबारदेखि १० जना महिलाहरूले तालिममा थप सीप हासिल गर्दै छन् । यस्तै गत आइतबारदेखि कपुरकोट गाउँपालिकामा पनि १० जना युवा महिलाहरूले आआफ्नो टोलमा तालिम लिइरहेको आर्थिक तथा सामाजिक न्यायका लागि समुदाय परिचालन कार्यक्रम सल्यानका संयोजक गुमानसिंह नेपालीले जानकारी दिए । 

छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरूले सिप सिकेर समाजमा परिवर्तन ल्याउन सक्ने भन्दै उनीहरूलाई उद्यमशीलता तर्फ अग्रसर गराउन आवश्यक रहेको बताइन् । वडा अध्यक्ष छविलाल खत्रीले हाललाई १० जना महिलालाई तालिमको अवसर दिएको र उनीहरूले व्यवसाय सञ्चालन गरेको हेर्न चाहेको उल्लेख गर्दै आगामी दिनमा अझै यस्ता अवसरहरू ल्याइने बताए । 

हारिचारमा भएको तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तुलसा वि।क।, वडा सदस्य शान्ता उपाध्याय, दलित विकास समाजका कार्यसमिति सदस्य शान्ता नेपाली लगायतको सहभागिता रहेको थियो । 

यसअघि विभिन्न अवसरबाट ३ महिनाको सिप तालिम पूरा गरिसकेका महिलाहरूले अब १ महिनाको ताजा सिप तालिम र व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यवसाय थाल्ने इच्छा व्यक्त गरेपछि यो तालिम सुरु गरिएको हो । तालिमका लागि आवश्यक कपडा सहित सम्पूर्ण सामग्रीसहित सिलाई मेसिन पनि कार्यक्रमबाट उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top