ट्रेण्डिङ

होमपेज / अर्थ

छत्रेश्वरीको हिउँदे गाउँ सभा सम्पन्न, बजेट तथा कार्यक्रम संशोधन

  सल्यान खबर डेस्क २०८१ पौष २८ गते आइतबार १९:४१:४६ मा प्रकाशित

सल्यान, २८ पुस । सल्यानको छत्रेश्वरी गाउँपालिकाको १७ औँ गाउँ सभा सम्पन्न भएको छ । केही बजेट तथा योजना संशोधन र बजेट तथा कार्यक्रमको समीक्षा सहित महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रुपमा पारित गर्दै आइतबार गाउँ सभा सम्पन्न भएको हो ।

१७ औँ गाउँ सभा तथा हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार गाउँपालिकाको चालू आर्थिक वर्षमा ४९ करोड ४७ लाख २६ हजार ८६८ रुपैयाँ अनुमानित आय रहेकोमा हालसम्म २२ करोड १ लाख ९२ हजार ३५१ रुपैयाँ मात्र आम्दानी भएको छ । गाउँ पालिकामा हाल सम्म चालू तर्फ १२ करोड १२ लाख ४३ हजार २५९ रुपैयाँ अर्थात् ३५.१४ प्रतिशत मात्र खर्च भएको छ भने पुजिगुत तर्फ १ करोड १३ लाख ९६ हजार ७२७ रुपैयाँ अर्थात् ७.६१ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना कार्यक्रमका सन्दर्भमा समीक्षा र छलफल गर्दै विभिन्न निर्णयहरू सर्वसम्मत रुपमा पारित गरेको गाउँभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिए । सो अवसरमा गाउँभाका अध्यक्ष ओज बहादुर बुढाथोकीले गाउँपालिकाका योजना र कार्यक्रम कार्यान्वयनका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले हाल सम्म सबै गाउँभाका सदस्यहरूको एकताबद्ध साथ र हातेमालोमा हरेक निर्णयहरू हुँदै आएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरे । सभामा गाउँ सभा उपाध्यक्ष बुद्ध कुमारी खत्रीले संशोधित बजेट प्रस्ताव पेस गरेकी थिइन् ।

गाउँभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली, ३ का वडा अध्यक्ष तीर्थराज दाहाल, ४ का वडा अध्यक्ष छविलाल खत्री, ७ का वडा अध्यक्ष टेक बहादुर विष्ट, कार्यपालिका सदस्यहरू बस्ता जिसी, तिला घर्ती, तुल्सा विकले आफ्नो भनाई प्रस्तुत गरेका थिए । स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले चालु वर्षमा बाँकी बजेटको प्रभावकारी उपयोग गरी विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । गाउँ सभा सदस्य देवेन्द्र राना लगायतले गाउँ सभा बैठकमा प्रस्तुत एजेन्डाहरूमाथि छलफलमा भाग लिँदै आवश्यक सुझावहरू प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top