होमपेज / अर्थ
पुष २५,सल्यान
सल्यानमा यस वर्ष धान उत्पादनमा वृद्धि आएको छ । समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो ।
कृषि विकास कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८ सय ७८ मेटिक्टन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५ सय ५९ मेटिक्टन धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिनु भयो । गत आर्थिक वर्ष भन्दा ३ हजार १९ मेटिक्टन धान बढी उत्पादन भएको उहाँको भनाई छ ।
क्षेत्रफल बराबर भएपछि उत्पादकत्वमा वृद्धि आएको घर्तीले बताउनु भयो । उहाँले भन्नु भयो ‘उत्पादन बढ्नुको मुख्य कारण उत्पादकत्वमा आएको वृद्धि नै हो । समयमै भएको वर्षा, उन्नत बीउको प्रयोग र रासायनिक मलको सहजताले पनि यो सम्भव भएको हो ।’
बढ्दो सहरीकरण तथा खेती गर्ने जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन भने विस्तारै बाझिदै जान थालेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ७ हनजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । आ.व २०७९÷०८० भन्दा चालु आ.व सम्म आइपुग्दा १०३७ हेक्टर जमिनमा खेती भएको पाइदैन ।
जनशक्तिको अभाव, सहरीकरणको प्रभाव लगायतका कारण खेतीयोग्य जमिन मासिदै गएको कार्यालयले जनाएको छ ।
जिल्लाका मर्मपरिकाँडा, बनगाड जिउला, गरी जिउला, रेशम जिउली, कालिमाटी रामपुर, काल्चे काप्रेचौर लगायतका क्षेत्र धानको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । सल्यान हालसम्म खाद्यन्नमा आत्मनिर्भर जिल्लामा पर्दछ ।