होमपेज / अर्थ
सल्यान, १८ फागुन ।
कृषि क्षेत्र तथा आफ्ना सदस्यहरूको व्यवसाय प्रवर्द्धनका लागि सल्यानको एक सहकारी संस्थाले ८८ लाख बढी रुपैयाँ लगानी गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ लान्तीमा रहेको छत्रेश्वरी कृषि उपभोक्ता सहकारी संस्थाले ८८ लाख २५ हजार रुपैयाँ ऋण लगानी गरेको सहकारीका प्रबन्धक शेर बहादुर भण्डारीले जानकारी दिए । सहकारीको १४ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा कुल पुँजी १ करोड १७ लाख ८२ हजार ८८७ रुपैयाँ रहेको पनि बताइएको थियो ।
छत्रेश्वरी कृषि उपभोक्ता सहकारी संस्थाको साधारण सभा उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले आर्थिक विकास र समाज रूपान्तरणका लागि सहकारीको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै संस्थाको उद्देश्य अनुरूप सहकारी सञ्चालन हुनुपर्नेमा जोड दिए । गाउँपालिकाले सहकारीको व्यवस्थापन सँगै सहयोग पनि गर्ने उल्लेख गर्दै उनले समृद्ध पालिका निर्माणका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायतका अतिथिले मन्तव्य राख्दै गरिबी निवारण र आर्थिक अवस्था सुधारका लागि सहकारीको योगदानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । छत्रेश्वरी कृषि उपभोक्ता सहकारीका अध्यक्ष अनुवम सिंह श्रेष्ठले सहकारीका हरेक सदस्य उत्पादनमा जोडिनुपर्ने र भविष्यका लागि बचत सँगै रकमको सही सदुपयोग हुनुपर्ने बताए ।
वार्षिक साधारण सभामा १७० जना बढीको उपस्थिति रहेको थियो । वि.सं. २०६६ सालमा स्थापना भएको यस सहकारीले गत आर्थिक वर्षमा मात्रै १३ लाख ५७ हजार ६९१ रुपैयाँ आम्दानी गरेको लेखा समिति संयोजक सुरेन्द्रनाथ योगीले जानकारी दिए । जस मध्ये ४ लाख २८ हजार २९२ रुपैयाँ खर्च भएको पनि बताइएको छ । सहकारीले आफ्ना सदस्यहरूको लागि मृत्यु राहत, प्राकृतिक विपद्मा राहत तथा विपन्न शेयर सदस्यका सन्तानका लागि छात्रवृत्ति समेत प्रदान गर्दै आएको सहकारीका सदस्य पोषण परियारले जनाए ।





.jpg)