ट्रेण्डिङ

होमपेज / अर्थ

छत्रेश्वरी गाउँपालिकामा वडाबाटै भत्ता वितरण सुरु

  सल्यान खबर डेस्क २०८० मंसिर ५ गते मंगलबार १८:३६:४२ मा प्रकाशित

५ मङ्सिर, सल्यान ।

छत्रेश्वरी, १ पलाटेकि ७५ वर्षीय कलावती चन्द यस पटक निकै खुसी छिन । विगतमा परिवारले सदस्यसहित करिब ४५ किलोमिटर टाढा लान्ती स्थित बैङ्क सम्म सामाजिक सुरक्षा भत्ता लिन जान बाध्य हुने उनी यस पटक आफ्नै वडा कार्यालयमा भत्ता पाउँदा खुसीले दङ्ग छिन् । यस्तै मैयानी गाउँका ज्येष्ठ नागरिक देव बहादुर खत्री पनि आफ्नै गाउँ नजिकको वडाबाट भत्ता प्राप्त गरेपछि राहतको महसुस गरेका छन् । ७६ वर्षीय चूडामणि खत्रीले आफ्नै ठाउँमा भत्ता सुझ्ने व्यवस्था भएपछि धेरै सजिलो भएको र आगामी दिनहरूमा पनि यो व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

छत्रेश्वरी गाउँपालिकाले मङ्गलवार देखी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको हो । १ नम्बर वडा कार्यालय मार्फत ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिक, ६८ वर्ष माथिका ज्येष्ठ नागरिक अन्य, पूर्ण अपाङ्गता भएका तथा अति अशक्त अपाङ्गता भएका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । मङ्गलवार वडा नम्बर १ का ९२ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।

भत्ता वितरण सुरुवात गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, १ नम्बर वडा अध्यक्ष प्रकाश हमालले बैङ्कमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने, अन्य सास्ती हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याउने प्रयत्न गरिएको बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ । 

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, लान्ती शाखाका प्रतिनिधि हृदय विष्टले गाउँपालिकाले धेरै पहिले देखि नै वडा बाटै भत्ता वितरणको लागि निर्णय र आग्रह गरेपनी प्राविधिक कार्य मिलाउन केही समय लागेको र यस पटकको सिकाइलाई आत्मसाथ गर्दै आगामी दिनमा अझै सहज तरिकाले भत्ता वितरणको काम गरिने बताए ।

अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैङ्क रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रबन्ध मिलाइएको हो ।

सो अवसरमा वडा नम्बर १ का जनप्रतिनिधिहरू चूडामणि न्यौपाने, भीम बहादुर शाही, दिपा घर्ती, सुनिता विक लगायत सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी, अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक श्री गीता अधिकारीले गर्नुभएको थियो । 

गाउँपालिकाले बुधवार वडा नम्बर २ को दहखोला, ७ गते वडा नम्बर ५ को लेख पोखरा, १० गते वडा नम्बर ४ को जयचौर, ११ गते वडा नम्बर ३ को मुलखोका र १२ गते वडा नम्बर ७ को राङ्सीमा भत्ता वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top