होमपेज / अर्थ
असार ११,सल्यान
सल्यान दश स्थानीय तह मध्ये सात स्थानीय तहले मात्र निर्धारित समयमा नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । असार १० गते बजेट ल्याइ सक्नु पर्ने सरकारको नीतिअनुसार जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले मात्र आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट ल्याएका हुन ।
जिल्लाको शारदा नगरपालिका, दार्मा, कपुरकोट, त्रिवेणी ,छत्रेश्वरी, कालिमाटी, सिद्धकुमाख गाउँपालिकाले ३ अर्ब २० करोड ५० लाखभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । यस्तै बनगाड कुपिण्डे , बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । बनगाड र बागचौर नगरपालिकाले नीति तथा कार्यक्रम मात्र ल्याएका छन् भने कुमाख गाउँपालिकाले दुवै ल्याउन सकेको छैन ।
सात स्थानीय तहले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १ अर्ब १७ करोड ६७ लाख ६० हजार रहेको छ भने चालुमा २ अर्ब २ करोड ४० लाख रहेको छ । सात स्थानीय तहले स्वास्थ्य, शिक्षा, कृषि, पुर्वाधार, खरको छानामुक्त अभियानलाई प्राथमिकता दिएका छन् ।
कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले कृषि अन्तर्गत न्यूनतम समर्थन मूल्य कोष र उत्पादनमा आधारित कृषक उत्पादन र तीन वर्षमा खरको छानामुक्त अभियानका साथै शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताउनु भयो । कूल बजेट ४४ करोड ३६ लाख २० हजारमा पुँजीगतमा १६ करोड ११ लाख ९१ हजार र चालुमा २८ करोड २४ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको उहाँको भनाई छ ।
यस्तै कालिमाटी गाउँपालिकाले ४३ करोड १ लाख बजेट सार्वजनिक गरेकोमा पुँजीगतमा ११ करोड ६४ लाख ७ हजार र चालुमा ३१ करोड ९४ लाख ४० हजार रकम विनियोजन गरेको छ । त्रिवेणी गाउँपालिकाले ४० करोड ७० लाख बजेट सार्वजनिक गरेको बताए । पुँजीगतमा १२ करोड ६९ लाख र चालुमा २८ करोड १२ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाले ५० करोड ३ लाख २९ हजर बजेट सार्वजनिक गरेकोमा ३० करोड रुपैयाँभन्दा बढी चालुमा र अन्य पुँजीगतमा विनियोजन गरेको छ । शारदा नगरपालिकाले ६८ करोड ६३ लाख, दार्मा गाउँपालिकाले ४४ करोड ४ लाख ७ हजार २ सय र सिद्ध कुमाख गाउँपालिकाले ३३ करोड ५६ लाख ८ हजार ३ सय २८ रुपैयाँको बजेट विनियोजन गरेका छन् ।





.jpg)