होमपेज / अर्थ
वैशाख २०,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक उत्साहित भएका छन् । पालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैङ्कमा भत्ता लिन जान निकै कठिन भएपछि वडाबाटै भत्ता वितरण गर्न थालिएको हो ।
बैङ्कमा घण्टौँसम्म लाइन बसेर वृद्ध भत्ता बुझ्दै आउनु भएकी बनगाड कुपिण्डे नगरपालिका २ की पानसरी महतराले आर्थिक वर्षको दोस्रो चौमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो चुनावका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडाबाट दिन्छौँ भन्थे , त्यति बेला विश्वास लागेको थिएन, अहिले भने मतदातासँग गरेको प्रतिबद्धता अनुसार काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।
यस्तै सोही वडाकै राम प्रसाद शर्माले पहिले सल्लीबजारमा रहेको बैङ्कमा भत्ता लिन जाँदा धेरै दुःख पाएको बताउँदै अहिले बाटो छोट्टिएको बताउनु भयो । वडा कार्यालयसम्म आइपुगेर भत्ता पाउँदा धेरै सहज भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो यहाँबाट सल्लीबजार जान पैदल दुई तीन घण्टा भन्दा बढी लाग्छ । धेरै कष्टकर तरिकाले पुगिन्थ्यो । यहाँसम्म आएर भत्ता पाउँदा धेरै राहत भएको छ ।
ज्येष्ठ नागरिक धाइरी खत्रीले सहजै भत्ता पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो राज्यले हामी ज्येष्ठ नागरिकलाई भरण पोषणका लागि सहयोग गरेको हो । तर विकटताका कारण बैङ्कसम्म आउन जान गाह्रो थियो । स्वास्थ्यका कारण हिँड्न पनि कठिन थियो । वडाबाटै भत्ता पाउँदा खुसी लागेको छ ।
टाढाका ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई बैङ्कसम्म पुग्न समस्या हुने भए पछि बैङ्कहरूको समन्वयमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । निर्वाचनको समयमा मतदातासँग गरिएको प्रतिबद्धता अनुसार सामाजिक सुरक्षा भत्ता बैङ्कमा आएर लाइनमा बसी लिनु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाई छ । पालिकाका १२ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बुढाथोकीले बताउनु भयो । पालिकामा रहेको वृद्ध वृद्धा, एकल महिला, अपाङ्गता गर्भवती तथा सुत्केरी लगायतको बैङ्क खाता समेत खोल्न सुरु गरिएको वडा न २ का वडाध्यक्ष मान बहादुर खत्रीले बताउनु भयो । भौगोलिक रुपमा टाढा रहेकाले वृद्ध र अपाङ्गता भएका नागरिकलाई सहज सेवा प्रदान गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको उहाँको भनाई छ । वडामा रहेका १३० ज्येष्ठ तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको उहाँको भनाई छ ।





.jpg)