होमपेज / अर्थ
वैशाख ४,सल्यान
तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा आर्थिक वर्ष २०७८÷०७९ मा २८ करोड ८५ लाख ४३ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा बेरुजु रकम भने घटेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ११ करोड ५४ लाख ७६ हजार लेखा परीक्षण भएकोमा २८ करोड ८५ लाख ४३ हजार बेरुजु देखिएको हो । प्रतिवेदनका अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिका ६ दशमलव ९३ प्रतिशत रहेको छ भने कम बागचौर नगरपालिकाको ० दशमलव ९९ प्रतिशत रहेको छ ।
त्रिवेणी गाउँपालिकाले ७३ करोड ५७ लाख ६२ हजार लेखा परीक्षण गरेकोमा ५ करोड ९ लाख ५९ हजार अर्थात् ६ दशमलव ९३ प्रतिशत बेरुजु देखिएको छ । यस्तै बागचौर नगरपालिकाले १ अर्ब ५८ करोड ७४ लाख ६२ हजार लेखा परीक्षण गरेकोमा १ करोड ५७ लाख ६७ हजार अर्थात् ० दशमलव ९९ प्रतिशत बेरुजु देखिएको छ ।
कालीमाटी गाउँपालिकामा ९७ करोड १ लाख ४२ हजार लेखा परीक्षणमा १ करोड ५ लाख ३० हजार बेरुजु रहेको छ भने कपुरकोट गाउँपालिकाले ६८ करोड ४२ लाख २६ हजार लेखा परीक्षण गर्दा २ करोड ५८ लाख ८५ हजार बेरुजु देखिएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकाले ८८ करोड ४३ लाख १८ हजार लेखा परीक्षण गर्दा ३ करोड ८६ लाख ८८ हजार बेरुजु देखिएको छ । शारदा नगरपालिकाले १ अर्ब १९ करोड १२ लाख ६० हजारको लेखा परीक्षण गर्दा ३ करोड ७१ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
दार्मा गाउँपालिकाले ८५ करोड ६९ लाख २४ हजार लेखा परीक्षण गर्दा ५ करोड ११ लाख २२ हजार बेरुजु रहेको छ भने कुमाख गाउँपालिकाले १अर्ब २० करोड ११ लाख १ हजार लेखा परीक्षण गर्दा १ करोड २८ लाख ३४ हजार बेरुजु रहेको छ ।
यस्तै सिद्ध कुमाख गाउँपालिकाले ७२ करोड ८१ लाख ५५ हजार लेखा परीक्षण गर्दा १ करोड १२ लाख ७६ हजार बेरुजु रहेको छ भने बनगाड कुपिण्डे नगरपालिकाको १ अर्ब २७ करोड ६१ लाख २६ हजार लेखा परीक्षण गर्दा ४ करोड १४ लाख ११ हजार अर्थात् ३ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ ।
महालेखाको ५९ औँ प्रतिवेदनमा सल्यानको १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखा परीक्षण गर्दा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको थियो । विगतको भन्दा लेखा परीक्षण र बेरुजु रकम दुवै घटेको देखिन्छ ।





.jpg)