ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा पहिलो पटक चैते धान रोपियो

  सल्यान खबर डेस्क २०७९ चैत्र १४ गते मंगलबार १९:३०:५७ मा प्रकाशित

चैत  १४,सल्यान

जिल्लामा पहिलोपटक चैते धान रोपिएको छ। परीक्षणका रूपमा कुमाख गाउँपालिका-२ रागेचौरमा चैते धान रोपिएको हो। जिल्लामा चैत धानको सम्भाव्यता अध्ययनका लागि रागेचौरमा करिब ३ रोपनी खेतमा चैते ५ जातको धान रोपिएको हो।

धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका रूपमा पहिलोपटक चैते धान रोपिएको हो। बर्खे धानभन्दा चैते धानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतले जानकारी दिए। पानी कम हुने, तटीय क्षेत्र लगायतका स्थानमा चैते धान राम्रो उत्पादन हुने उनको भनाइ छ।

पर्याप्त पानीको अभावमा जमिन बाँझो राख्ने क्रमलाई रोक्न, खाद्य सुरक्षामा टेवा पुर्‍याउन र चामलको आयात प्रतिस्थापन गर्न चैते धानको सम्भाव्यता अध्ययन भइरहेको रावतले बताए।

उनले भने, ‘बर्खे धानको तुलनामा चैते धानको उत्पादन समेत बढी हुने र गहुँको तुलनामा राम्रो उत्पादन हुने भएकाले जिल्लामा चैते धानलाई प्रवर्द्धन गर्न खोजिएको छ।’

परीक्षणका रूपमा लगाएको चैते धानको उत्पादन बर्खे धानको भन्दा बढी भएमा गहुँको सट्टा चैते धान नै लगाउने कुमाख गाउँपालिका-२ किसानकुमारी बुढाथोकीले बताए।

उनले भने, ‘पहिलोपटक चैते धान रोपिएको छ। तोरी लगाएर खाली भएको जग्गामा रोपेका छौँ। यो वर्ष कस्तो उत्पादन हुन्छ हेरौं। राम्रो भयो भने अर्को वर्ष धेरै लगाउनु पर्ला।‘

बाह्रै महिना सिँचाइको व्यवस्था भएकाले चैते धान राम्रो हुन सक्ने अर्का किसान वीरबहादुर बुढाथोकीले बताए। कार्यालयले समयमै निःशुल्क परामर्श, मल वीउ उपलब्ध गरायो भने चैते धान लगाउन तयार भएको उनको भनाइ छ।

चैते धान लगाउने किसानलाई ५० प्रतिशत अनुदानमा वीउ र निःशुल्क परामर्श सेवा दिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top