ट्रेण्डिङ

होमपेज / अर्थ

व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै सल्यानका उमलाल

  सल्यान खबर डेस्क २०७९ माघ २६ गते बिहीबार १७:२१:१७ मा प्रकाशित

 माघ २६,सल्यान 

आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नु भएका सल्यान बनगाड कुपिण्डे नगरपालिका १ आमखोलीका उमलाल कामी व्यावसायिक बङ्गुर पालनमा जम्नु भएको छ । 

रोजगारीको सिलसिलामा आउने जाने गरी १२ वर्ष भारतको हिमाचलमा बिताउनु भएका कामीले अहिले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । 

सात वर्षअघि एक बङ्गुरबाट व्यवसाय थाल्नु भएका उहाँसँग अहिले साना ठूलागरी ४४ बङ्गुर रहेका छन् । व्यावसायिक बङ्गुर पालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उहाँ उत्साहित हुनु भएको छ । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि भारतको हिमाचलमा गरेको दुःखलाई भुलाउने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो घर परिवार चलाउन गाह्रो भएपछि भारत तिर लागे । भारतमा पनि कडा श्रम गर्दा पनि परिवार पाल्न धौ धौ भएपछि स्वदेशमा केही गर्ने सोचका साथ स्वदेश फर्किएर बङ्गुर पालनमा  लागेको हुँ । 

बङ्गुरको बजारीकरण खासै समस्या नरहेको उहाँको भनाइ छ । कामीले फर्मबाटै पाठा पाठी पाँच हजार रुपैयाँसम्म बिक्री भइरहेको बताउनु भयो । सबै खर्च कटाएर वार्षिक ५ देखि ७ लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाई छ ।  मासुका लागि उत्पादन गरिएका ठुला बङ्गुरको बजारीकरणमा केही समस्या भएपनि साना पाठा पाठी बिक्रीका  लागि भने कुनै समस्या नभएको उहाँको भनाई छ । व्यवसायलाई अझै बिस्तार र व्यवस्थित गर्ने सोचमा रहेको उहाँको भनाइ छ । 

फर्म नजिकै बजार भएकाले होटेलबाट निस्कने जुठोलाई पनि दानाको रुपमा प्रयोग गर्दै आइरहनु भएको छ । 

आफ्नै लगानी र प्रयासबाट स्वरोजगार, घरपरिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको उमलालको श्रीमती जयन्ती कामीले बताउनु भयो ।  बङ्गुरले वर्षमा चार पटकसम्म ब्याउँछ । एक पटकमा १० देखि १४ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या हुँदैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top