होमपेज / अर्थ
२५ माघ । सल्यानको कपुरकोट गाउँपालिकाको १२ औँ गाउँसभा बुधबारदेखि शुरु भएको छ । गाउँसभाको प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला र कर्णाली प्रदेशका भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री भिमप्रकास शर्मा संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।
गाउँ सभालाई संवोधन गर्दै प्रतिनिधिसभा सदस्य प्रकास ज्वालाले कपुरकोटलाई समृद्ध बनाउन एकिकृत कृषि विकास कार्यक्रम अघि सार्नुपर्ने बताउनुभएको छ । उहाँले कपुरकोट बेमौसमी तरकारीका हिसावले परिचित पालिका भएकाले आगामी दिनमा कृषिको थप व्यवसायीकरणका लागि एकिृकत कृषि विकास कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो । ‘कृषि उत्पादनबाट गाउँपालिका समृद्ध बन्ने निश्चित छ ।’ उहाँले भन्नुभयो–‘कृषिको व्यवसायीकरणका लागि सिंचाई, बजारीकरण, यातायातको पूर्वाधार विकास गर्नुपर्ने आवश्यक छ ।’
उहाँले कपुरकोट गाउँपालिकालाई आर्थिक, सामाजिक तथा साँस्कृतिकरुपमा नमुना गाउँपालिकाको रुपमा विकास गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो । कृषिमा व्यवसायीकताकरण ल्याएर रोजगारीका लागि विदेश जाने वातावरण अन्त्य गराउनुपर्ने उहाँको भनाई छ । कर्णाली प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले प्रदेश सरकारले अब व्यक्तिगत भन्दा सामुहिक लगानीमा सरकारले अनुदान दिने बताउनुभयो । उहाँले कपुरकोट गाउँपालिकाले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकता राखेकोमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
उहाँले भारतीय तरकारीलाई निरुत्साहित गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले कृषि उत्पादन नबढाउँदासम्म व्यवसायीकरण नहुने बताउनुभयो । ‘कपुरकोटको तरकारी बिक्रि हुन्छ, तर बागचौरको तरकारी बिक्रि भएन , किन भन्दा बागचौरमा थोरै उत्पादन भयो, व्यवसायी लिन आएनन् ।’ उहाँले भन्नुभयो–‘कृषिको व्यवसायीकरणका लागि उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्छ ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका संस्थापक उपाध्यक्ष तिला बुढाले कपुरकोटको विकासका लागि अघिल्लो सरकारले ल्याएका राम्रा कामलाई निरन्तरता दिदैँ किसानमैत्री नीति अघि सानुपर्ने बताउनुभयो । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य भद्रसिं बुढाथोकीले बाँझो जग्गा राख्नेलाई सेवासुविधाबाट बन्चित गर्नुपर्ने नीति ल्याउनुपर्ने बताउनुभयो ।
कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले कर्णाली प्रदेशको प्रमुखद्धारको रुपमा रहेको कपुरकोटलाई समृद्ध बनाउने आधार कृषि क्षेत्रमात्रै भएको बताएका छन् ।
त्यस अवसरमा गाउँपालिका उत्कृष्ट कृषक, तरकारी खरिद गर्ने व्यवसायी, कृषि सहकारी तथा समुहलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले पालिकास्तरमा कृषि तथा पशुपालनको क्षेत्रबाट १२ जना किसान तथा कृषि सहकारीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ । गाउँपालिकाले साना किसान तथा कृषि सहकारी संस्था कपुरकोटसहित १२ जना किसानलाई प्रतिकिसानलाई नगद पाँच हजारसहित सम्मान गरेको हो ।
यस्तै वडास्तरमा उत्कृष्ट किसान ४५ जना किसानलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसैगरी गाउँपालिकाले कपुरकोटको तरकारी बिक्रि वितरण गर्ने व्यवसायी १५ जना व्यवसायीलाई पनि सम्मान गरिएको छ । त्यस अवसरमा विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शन समेत गरिएको छ । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेशका भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले गर्नुभएको हो ।।





.jpg)