ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा बेमौसमी तरकारीबाट छ महिनामा १७ करोड आम्दानी

  सल्यान खबर डेस्क २०७९ मंसिर २३ गते शुक्रबार १६:३८:५० मा प्रकाशित

मंसिर २३,सल्यान
सल्यानमा ६ महिनामा १७ करोडको बेमौसमी तथा मौसमी तरकारी जिल्लाबाहिर निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार १७ करोड २३ लाख १६ हजार ५९० रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल निकासी भएको छ । 

गत जेठ २३ गते देखि कार्तिक ३० गते सम्म ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी तथा फलफुल कपुरकोट स्थित तरकारी बजारबाट किसानहरुले विक्रि गरेको बजार केन्द्रले जनाएको छ । 

देशकै ठूला तरकारी बजार मध्येको सल्यान कपुरकोबाट वर्षेनी करोडौँको तरकारी जिल्ला निकासी हुने गरेको छ । छ महिनाको अवधिमा कपुरकोट स्थित तरकारी बजारबाट ४१ लाख २३ हजार २९१ किलो ताजा तरकारी, ६७ हजार ३७० किलो अदुवा र १८ हजार ४३१ किलो फलफुल निकासी भएको कृषि उपज बजार केन्द्रका कर्मचारी चन्द्रमणी खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार किसानले बिशेष गरेर टमाटर, काउली ,बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु, कांक्रा, गाजर, हरियो धनिया, अदुवा लगायतका बेमौषमी तरकारी तथा फलफुल उत्पादन गर्ने गर्दछन् । यहाँबाट सबै भन्दा बढी टमाटर निकासी हुने गरेको छ ।

 जेठ २३ देखि कार्तिक ३० गते सम्म निकासी भएको ४२ लाख नौ हजार ९२ किलो तरकारी मध्ये १३ लाख ८१ हजार ३४३ किलो टमाटर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटको विवरणमा उल्लेख छ । कपुरकोट क्षेत्रमा किसानहरुले व्यावसयिक रुपमा वेमौसमी ताजा तरकारी उत्पादन गर्ने गरेका छन् । खेतीयोग्य जमिनको अधिकांश जमिनमा किसानहरुले विगतका वर्षहरु देखि नै ताजा तरकारी, फलफुल र अदुवा खेती गर्दै आएका छन् ।

गत वर्षको तरकारी सिजनमा पनि कपुरकोट तरकारी बजारबाट ४० लाख ५० हजार ७९ किलो तरकारी विक्रि गरेका थिए । जसबाट १८ करोड ७७ लाख १८ हजार ४११ रुपैयाँ आम्दानी भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top