ट्रेण्डिङ

होमपेज / अर्थ

दूधमा आत्मनिर्भर बन्दै सल्यान, वार्षिक १९ हजार मेटिकट्न बढी दूध उत्पादन

  सल्यान खबर डेस्क २०७९ भाद्र १८ गते शनिबार १५:४३:२२ मा प्रकाशित

भदौ १८,सल्यान 

सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९ मा १९ हजार  मेटिकट्न  बढी दूध उत्पादन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा १९ हजार १ सय ४४ मेटिकट्न दूध उत्पादन भ एको हो । 

उत्पादन भएको मध्ये ८० प्रतिशत भन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लाबाट वार्षिक १२ दशमलव ४ प्रतिशत  दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनु भयो । 

जिल्ला बाहिर निकासी भएको दूधबाट  ७ लाख ४४ हजार रुपैयाँ किसानको हातमा परेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।’ 

 आर्थिक वर्ष  २०७७/०७८ सल्यानमा झन्डै दुई करोड लिटर दूध उत्पादन भएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको थियो  ।

कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ । १७ लाख ३ हजार दूध निकासीबाट ९५ लाख १५ हजार रुपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनु भयो  ।

दूध उत्पादनलाई वृद्धि गर्न  एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरेको छ । दार्मा गाउँपालिकाबाट मात्र दैनिक २ हजार लिटर दूध निकासी हुने गरेको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो । 

कार्यालयले पशुपालन व्यवसायमा संलग्न कृषकलाई सहज होस् भनेर पशु आहारका लागि उन्नत जातको घाँसको बीउ वितरण, पशु स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको उपचारका सहयोग, क्षमता अभिवृद्धि कार्यक्रम, अनुदान रकम र विभिन्न सामाग्री प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आइरहेको उहाँको भनाई छ । जसले गर्दा व्यवसाय बढ्नुका साथै दूध उत्पादनमा वृद्धि आएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top