ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको एक सहकारीका प्रबन्धक ३५ लाख हिनामिना गरी बेपत्ता

  सल्यान खबर डेस्क २०७९ असार १५ गते बुधबार १६:१२:३४ मा प्रकाशित

 

असार १५,सल्यान

सल्यानको एक सहकारीका प्रबन्धक  ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन् । जिल्लाको दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन । 

सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गर्नु भएको छ । सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उहाँको भनाई छ  । प्रबन्धक ओलीले ३५ लाख हिनामिना गरेको उहाँको भनाई छ ।

गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्विकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताउनु भयो । अहिले ओलीका सम्पूर्ण मोबाइल अफ भएको र कसैको सम्पर्कमा समेत नआएको अध्यक्ष मल्लले बताउनु भयो ।

जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदै छु भनेर उनी फोन स्विच अफ गरेर सम्पर्क विहीन भएको सहकारी संस्थाले जनाएको छ ।

अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नआएकोले २०७९ असार १४ गते बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका, वडा कार्यालय, साना किसान बैङ्क र निजको परिवारको समेत उपस्थितिमा निजलाई १ हप्ताभित्र सहकारीको सम्पर्कमा आएर हिसाब किताब बुझाउन अन्तिम म्याद दिएको छ ।

७ दिनभित्र सम्पर्कमा नआएमा निजको चल अचल सम्पत्ति सहकारीको नाममा रोक्का गर्ने र निजलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाउने अध्यक्ष मल्लले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top