होमपेज / अर्थ
असार ७,सल्यान
किवी खेतीतर्फ सल्यानका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै गएका छन् । जिल्लाको बागचौर नगरपालिका, छत्रेश्वरी, कुमाख गाउँपालिकामा किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।
बिरुवा लगाएको केही वर्षमा नै उत्पादन दिने भएकाले पनि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि गाउँ नै किवी खेतीमा लागेको बागचौर नगरपालिका ९ बथानका मदन शर्माले बताउनु भयो । बथानका १६ घरपरिवारले अन्न लगाउने बारीमा किवी खेती गरेको उहाँको भनाई छ । किवी ब्लक कार्यक्रम अन्तर्गत १६ घरधुरीले सामूहिक किवी खेती सुरु गरेको शर्माको भनाई छ । उहाँले भन्नु भयो ‘पुरै गाउँले किवी लगाएको दुई वर्ष भयो अर्को वर्षबाट आम्दानी दिन थाल्छ होला । गाउँघरमा काम गर्ने मान्छे नै पाउन छोडेपछि अन्नबाली छोडेर किवी खेतीमा लागेका छौँ ।’
अन्य अन्नबालीभन्दा झन्डै तीन गुणा बढी प्रतिफल किवीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका २ बुराँसेका चित्रबहादुर केसीले बताउनु भयो । उहाँले यो वर्ष २० क्विन्टल किवी बिक्री गरेको बताउनु भयो ।
व्यापारीले बोटबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गरेको केसीले जानकारी दिए। सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको उहाँको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि गाउँलेहरूमा बिस्तारै व्यावसायिक खेतीमा लागेको केसीले बताउनु भयो ।
किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको कार्यालयका सूचना अधिकारी रेसम कुमार बस्नेतले बताउनु भयो ।
जिल्लामा २० हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती भइरहेको उहाँको भनाई छ । २२ हेक्टरमा खेती गरिएको भएपनि हालसम्म ४ दशमलव ४ हेक्टर मात्र उत्पादनशील रहेको बस्नेतको भनाई छ । चालु आर्थिक वर्षमा मात्र जिल्लाबाट ३८ मेटिकट्न किवी निकासी भएको उहाँले बताउनु भयो ।





.jpg)