ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका युवा माछापालनमा आकर्षित

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ६ गते शुक्रबार १६:३२:११ मा प्रकाशित

सल्यान : छोटो समय र थोरै लगानीबाट मनग्य आम्दानी भएपछि सल्यानका युवा माछापालनमा आकर्षित भएका छन्। परम्परागत कृषिभन्दा व्यावसायिक माछापालनबाट राम्रो आम्दानी गर्न सकिने छत्रेश्वरी गाउँपालिका-६ का लोकराज भण्डारीले बताए। माछापालनबाट खर्च कटाएर वार्षिक ३ देखि ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

‘मैले झन्डै एक दशकदेखि व्यावसायिक माछापालन गर्दै आइरहेको छु‚’ भण्डारीले भने‚ ‘यस वर्ष वर्षातले झण्डै ६ लाख भुरा बगायो। तर पनि झन्डै दुई लाख रूपैयाँको माछा बिक्री भयो।’

कृषि क्षेत्रको बेलियो सम्भावना रहे पनि सरकारको नीति तथा कार्यक्रम फितलो भएकाले सोचे जति अझै अघि बढ्न नसकेको उनको गुनासो छ।

नौ वर्षअघिसम्म परम्परागत खेती गर्दै आएका कालीमाटी गाउँपालिका-३ ढोरेनीका केशरसिंह बुढाथोकीले पनि माछापालनबाट मनग्य आम्दानी गर्दै आइरहेका बताए। एक बिघामा माछापालन गरेका उनले वार्षिक ४ देखि ७ लाख रूपैयाँसम्म आम्दानी हुँदै आइरहेको जानकारी दिए।

सात वटा पोखरीमा रहु, नैनीलगायतका माछापालन गरेका छन्। उत्पादन गरेको माछा स्थानीय बजार आसपासमै बिक्री हुने भएकाले बजारको कुनै समस्या नभएको बुढाथोकीले बताए।

‘बाहिरका व्यापारीहरु गाडी लिएर पोखरीमै आउँछन्‚’ उनले भने‚ ‘बजारको मागलाई पुर्‍याउन सकिएको छैन। स्थानीय बजारमा प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ।’

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय सल्यानमा व्यावसायिक माछापालन गर्ने किसानको संख्या बढिरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्ययले बताए। यो वर्ष मात्र १० लाखभन्दा बढीको लगानीमा १५ नयाँ फार्म दर्ता भएको उनले जानकारी दिए।

सल्यानमा १०० रोपनीभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको कार्यालयको तथ्यांक छ। ५० जनाभन्दा बढी युवाले व्यावसायिक माछापालन गरी वार्षिक झन्डै १२ मेट्रिक टन माछा उत्पादन गर्दै आएहेको उपाध्यायले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top