होमपेज / अर्थ
सल्यान — ५ वर्ष अघिसम्म बन्गाडकुपिण्डे नगरपालिका–१० ढोरपिपलका प्रेमबहादुर रानाले ७ रोपनी खेतमा ‘बन्गाडी जरन’ जातको धान खेती गर्थे । तर बर्षेनि उत्पादन घट्दै गएपछि उनले रैथाने जरन लगाउन छोडेर उन्नत जातका धान लगाउन थालेका छन् ।
जरन लगाउँदा करिब १५ मुरी धान उत्पादन हुने भए पनि अहिले उनको खेतमा ३० मुरी धान उत्पादन हुन्छ । ‘रोग किराको प्रकोप पनि बढ्यो, उत्पादनले परिवार धान्न समस्या भयो,’ उनले भने, ‘तर जरन चामलको स्वाद मिठो थियो ।’
कालिमाटी गाउँपालिका–५ दम्दवालीका रनबहादुर गाहामगरको शारदा र बबई नदी किनारको जग्गामा सेतो मोटो दाना भएको ‘जरन’ जातको धान फल्थ्यो । उनले पनि अहिले उन्नत जातका धानसहित गहुँ र सेतो दाना हुने मकै देखिन छाडेको छ । ‘रोगले हैरानै पार्यो, जति विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन,’ उनले भने, ‘स्वादिलो र स्वस्थवर्द्धक भए पनि रैथाने बाली उत्पादनलाई निरन्तरता दिन सकिएन ।’ सल्यानमा कुनैबेला ‘बन्गाडी जरन’ साविकको राप्ती अञ्चल र मध्यपश्चिम क्षेत्रमा प्रशिद्ध थियो । ‘जरन’ धानको बीउको माग आसपासका जिल्लामा धेरै थियो । तर अहिले सल्यानकै किसानले यो धान लगाउन छोडिसकेका छन् । अहिले सुख्खा सहन सक्ने राधा–४, सुख्खा–१ देखि सुख्खा ६ सम्मका उन्नत जातको धानखेती गर्न थालेको स्थानीय कमल केसीले बताए । उनका अनुसार अहिले अन्नबालीको खेती पनि व्यवसायिक हुन थालेपछि रैथाने बाली लोप हुँदै गएको हो । ‘अब त सल्यानमा पनि जरन धानको उत्पादन हुन्थ्यो कि भन्ने बेला भइसक्यो,’ उनले भने, ‘उत्पादन कम भएपछि पुराना धानका जातहरू पुस्तान्तरण हुन सकेनन् ।’
रैथाने जातका धानहरू प्रतिहेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रतिहेक्टर ६ मेट्रिक टनसम्म उत्पादन उनले जानकारी दिए । कृषि विकास कार्यालयका अनुसार सल्यानमा ४५ हजार ५ सय ६७ हेक्टर कृषियोग्य जमिन छ । जसमध्ये ३८ हजार ९ सय ९ सय २६ हेक्टरमा किसानले विभिन्न बाली लगाउदै आएका छन् । ७ हजार ८२ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखोमा विभिन्न जातको बालीको खेती भइरहेको कार्यालयका निमित्त प्रमुख भरतकुमार बस्नेतले बताए । उनका अनुसार गत वर्ष रैथाने बाली भनेर चिनिने ‘घैया’ जातको पाखे धान ६ हेक्टरमा मात्र खेती गरिएको थियो । उनले ‘जरन’ जातको धानको खेतीको तथ्यांक भने कार्यालयमा नभएको बताए । ‘अहिले त मकै, गहुँ, धान सबै बालीहरू उन्नत जातको मात्र लगाउन थालिएको छ,’ उनले भने, ‘कोदो, चिनो, फापर, कागुनोलगायत बाली त सबैले लगाउन छाडे ।’
कृषकहरूले गत वर्ष १४ हजार २ सय १७ हेक्टरमा गहुँ र १९ हजार ३ सय २५ हेक्टरमा मकै लगाउने गरेको कार्यालयको तथ्यांक छ । जसमध्ये सबै क्षेत्रफलमा उन्नत जातकै गहुँ र मकै खेती गरिएको थियो । कार्यालयका अनुसार सल्यानमा ६ सय ७८ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ । रैथाने जातका अन्न र दलहन बालीको माग बढ्दै गए पनि उत्पादन भने घटिरहेको बस्नेतले बताए ।
ekantipur.com





.jpg)