होमपेज / अर्थ
माघ २,सल्यान
लगानी र मेहनत अनुसारको प्रतिफल निकै कम आउने भएपछि सल्यानका किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली र तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि जिल्लामा उत्पादन रैथाने बाली पछिल्ला वर्षमा कम क्षेत्रफलमा मात्र खेती हुने गरेको छ ।
रैथाने बालीको निकै कम उत्पादकत्व हुने भएपछि विगतको भन्दा पछिल्लो समय आधुनिक र बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेत गर्ने किसानहरूको सङ्ख्यामा वृद्धि आएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख भरत बस्नेतले बताए । पहिले निकै मेहनतका साथ उत्पादन गरिने कोदो, फापर, जौ, तिल, भटमास लगायतका बालीको उत्पादकत्व निकै कम हुने गर्दछ । पछिल्लो समय मेहनत गर्ने मानिसको अभाव, जलवायु परिवर्तन र सहरीकरणले गर्दा पनि परम्परागत बाली भन्दा छोटो समयमा धेरै उत्पादन अन्नबाली तिर किसान लागि परेका छन् ।
सहर बजारमा परम्परागत अन्नबालीको माग बढ्न थालेपछि केही किसानहरू भने रैथाने बाली उत्पादन तिर लागेको बस्नेतको भनाई छ । बजारमा विशेष गरी, कोदो, फापर, मकै, जौ को माग बढ्दै गइरहेको छ । त्यस कारण पनि केही किसानहरूले भने परम्परागत कृषिलाईलाई अङ्गाल्दै आइरहेको उनको भनाई छ ।
पुराना अन्नबाली उत्पादनमा युवाको चासो नहुँदा र अरू भन्दा कम फल्ने भएका कारण पुरानो अन्नबाली हराउँदै गएको किसान चेती थापाले बताइन । खेतीयोग्य जमिन बाँझो हुँदै गएको र थोरै जमिनमा पनि लगाएको परम्परागत बालीनालीले नपुग्ने भएपछि छोड्दै गएको उनको भनाई छ ।





.jpg)