ट्रेण्डिङ

होमपेज / अर्थ

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित

  सल्यान खबर डेस्क २०७८ पौष १ गते बिहीबार १६:५५:५० मा प्रकाशित

 पुस १,सल्यान 

सल्यानको प्रमुख नगदे बालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै समस्यामा परेका छन् । गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरू यो वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि किसान थप मारमा परेका हुन ।  

लगातार अदुवाको मूल्य घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरूको सख्या घट्दै गएको शारदा नगरपालिका – ७ रामेखोलाका किसान कृष्णा बुढाथोकीले बताए । बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरूमा १० रोपनीसम्म अदुवा लगाउने गरेको भएपनि आजभोलि भने दुई रोपनीमा खुम्चिनु परेको उनले बताए । उनले भने अदुवा खेती पनि के आशाले गर्नु बिउ, मल, ज्याला जोड्दा उल्टो घाटा हुन्छ । तीन हजार रुपैयाँ क्विन्टल बिक्री गरेर लगानी नै उठ्दैन । 

बारीमा कुहिनु भन्दा उधारोमा नै भएपनि तीन हजार रुपैयाँ क्विन्टल बिक्री गरेको अर्का किसान कमल गिरीले बताए । सात क्विन्टल अदुवा तीन हजार रुपैयाँ क्विन्टल बिक्री गर्नु पर्ने बाध्यता भएको उनको भनाई छ । अदुवाको बिक्रीमा व्यापक गिरावट आएपछि किसानको लागानि डुब्ने अवस्था सृजना भएको उनको भनाई छ । थोरै रोपेर धेरै फलाउन सकिने, कम मिहेनत पर्ने खाद्यन्नबाली भन्दा पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा लिइन्छ तर निरन्तर अदुवाको बजारमा समस्या आउँदा समस्या भएको किसानहरूको भनाई छ । 

अदुवाको मूल्य घटेपछि यस वर्ष  लगानी नै गुम्ने खतरा भएको हरिमान पुनले बताए । उनले भने ८ हजार रुपैयाँ क्विन्टल किनेर रोपेको मूल्य नै यो वर्ष नउठ्ने भयो । 

अदुवाको बजारीकरणको सुनिश्चितता नहुँदा किसान मारमा पर्दै आइरहेका छन् । अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नु पर्ने अवस्था रहेको छ । 

सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा २५ हजार ९ सय ७२ मेटिकट्न अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top