ट्रेण्डिङ

होमपेज / अर्थ

बजारमा माग बढेसँगै कोदो खेती गर्दै सल्यानका किसान

  सल्यान खबर डेस्क २०७८ मंसिर २६ गते आइतबार १६:३१:५१ मा प्रकाशित

मङ्सिर २६ ,सल्यान 

चामलको मात्र भात खानु पर्छ धारणा विकसित हुँदै गएपछि लोप हुँदै गएको कोदो खेती पछिल्लो समय भने माग बढ्दै जान थालेको छ । 

पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि किसानहरूले पनि राम्रो मूल्य पाउन थालेका छन् । कोदोको परिकार प्रति बजार बासी र पर्यटकको आकर्षण बढ्न थालेपछि किसानहरू पनि कोदो खेतीलाई बढाउन थालेका छन् । 

पहाडी जिल्लाको रुपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ । विशेष गरी बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ । बिस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले महत्त्वका साथ यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसम कुमार बस्नेतले जानकारी दिए । 

आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा १ हजार १ सय २० मेटिकट्न उत्पादन भएको थियो । गत आर्थिक वर्ष  २०७७÷०७८ मा ६ सय ७८ हेक्टरमा कोदो खेती गरिएको थियो । जसबाट १ हजार २ सय २७ मेटिकट्न कोदो उत्पादन भएको बस्नेतले बताए । 

कोदोको माग स्थानीय स्तरमा भन्दा जिल्ला बाहिर बढी हुने गरेको कार्यालयले जनाएको छ । बढी मात्रामा पोखरा, काठमाडौँ, दाङ सुर्खेत लगायतका जिल्लामा हुने गरेको बस्नेतले बताए । गत आर्थिक वर्ष मात्र सल्यानबाट ४५ मेटिकट्न कोदो जिल्ला बाहिर निकासी भएको उनको भनाई छ । जसबाट किसानले  १२ लाख बढी  आम्दानी गरेका छन् । 

खाद्य संस्कृतिमा चामलले व्यापकता पाइरहँदा र अन्य खाद्यान्न बालीलाई हेला गर्ने बानीको विकास हुँदा कोदो लगायतका अन्य खाद्यन्नबाली कम लगाउने गरेको बनगाड कुपिण्डे नगरपालिका –९ सेराका सेते बुढाले बताए । एक रोपनीमा कोदो खेती गर्दै आइरहेको बताउँदै उनले बजारमा बिक्री हुने नहुने बारेमा आफूलाई भने थाहा नभएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top