होमपेज / अर्थ
कात्तिक १५,सल्यान
सल्यान कालिमाटी गाउँपालिका –१ लक्ष्मीपुरका बाल कँवरले मौरी घार बिक्रीबाट वार्षिक १८ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । स्थानीय कच्चा पदार्थबाट सहजै घार निर्माण गर्न सकिने भएपछि उनले घार निर्माणबाट मनग्य आम्दानी गर्दै आइरहेका हुन । वार्षिक पाँच सय देखि छ सयसम्म घार निर्माण गर्दै आइरहेका बताउँदै उनले माग अनुसार घार पुर्याउन नसकेको बताए ।
एक घारको काठ अनुसार २ हजार ५ सय देखि ३ हजार ५ सयसम्म बिक्री हुने गरेको बताउँदै उनले घार बिक्रीबाट गत वर्ष मात्र १९ लाख आम्दानी भएको उनको भनाई छ । उनले भने ‘गत वर्ष ६ सय घारको माग भएको थियो यो वर्षको लागि अब सिजन सुरु हुँदै छ । चालु वर्षमा पनि ६ सयको हाराहारीमा माग आउने अनुमान गरेको छु ।’
२०७४ देखि व्यावसायिक घार निर्माण गर्दै आइरहेका कँवरले वार्षिक सरदर १७ देखि २० लाखसम्म आम्दानी हुँदै आइरहेको बताए । घारको माग अनुसार आम्दानी तलमाथि हुने उनको भनाई छ । मजदुरको पारिश्रमिक, कच्चा पदार्थ खरिद र घर खर्च कटाएर १२ देखि १५लाखसम्म चोखो आम्दानी हुँदै आइरहेको उनले बताए ।
सरकारले विभिन्न जिल्लामा माहुरी ब्लक कार्यक्रम सञ्चालन गरेका कारण पनि मौरी घारको माग आउने गरेको उनको भनाई छ । मौरी घारको माग सबैभन्दा धेरै रुकुम पूर्व र पश्चिमबाट आउने गरेको कँवरले बताए । यस्तै जाजरकोट, सुर्खे, दाङ र सल्यानका विभिन्न पालिकाबाट माग आउने गरेको छ उनले भने ।
नियमित चार र सिजनमा १२ जनासम्मलाई रोजगारी
व्यावसायिक मौरी घार निर्माण गर्दै आइरहेका कँवरले नियमित चार जनालाई रोजगारी दिँदै आइरहेका छन् । तर सिजनमा भने उनले मजदुर थप्ने गरेका छन् । मङ्सिरको अन्तिमबाट मौरी घारको सिजन सुरु हुने बताउँदै सिजनमा चार जनाले मात्र घार निर्माण गर्न नसक्ने भएकाले अन्य ६/७ जना मजदुरलाई रोजगारी दिने गरेको बताए ।
सरकारी कार्यालयहरुले मङ्सिरबाट घारको माग गर्ने भएकाले आफ्नो सिजन हुने गरेको उनको भनाई छ । उनले भने ‘नियमित रुपमा घरका बाबुछोरा सहित चार जनाले नियमित काम गएका छौँ तर मङ्सिरदेखि थप ६/७ जनालाई थप्ने गरेका छौँ ।’





.jpg)