होमपेज / अर्थ
असोज २०,सल्यान
सल्यानको बाफुखोलाका किसानले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । आलु खेती गरेरै जिल्लाको बागचौर नगरपालिका –११ र १२ का किसानले यो वर्ष १२ करोडको आलु उत्पादन गरेका हुन ।
कृषि विकास कार्यालय सल्यानका अनुसार वाफुखोलामा २ हजार रोपनीमा आलु खेती हुँदै आइरहेको छ । वाफुखोलाबाट मात्र यस वर्ष १२ करोड रुपैयाँको आलु बाहिर गएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
आलु खेती गरेर एक घरले ५० हजार देखि ५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । आलु खेती गरेर नै यहाँका किसानको जीवनयापन चली रहेको किसान चित्र बहादुर ओलीले बताए । यस वर्ष ४५ क्विन्टल आलु बिक्री गरेर १ लाख ४५ हजार आम्दानी गरेको उनको भनाई छ । आलु लगाएको समयमा सुख्खा र खन्ने समयमा लगातार पानी पर्दा यो वर्ष उत्पादन भने धेरै घटेको ओलीको भनाई छ ।
उनले भने चैत र वैशाखमा सुख्खा हुँदा सिचाइको अभाव भयो खन्ने समयमा लगातार पानी पर्दा अलि अलि भएको आलु पनि कुहियो । मौसमले साथ नदिँदा यो वर्ष आलुको उत्पादन भने घटेको उनको भनाई छ । गत वर्ष झन्डै तीन लाखको बिक्री गरेको भएपनि यो वर्ष आधाले घटेको उनले बताए ।
विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागी जाने किसान अहिले आलु खेतीमा रमाइरहेको अर्का किसान शेर बहादुर खत्रीले बताए । आलु खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन आएको उनको भनाई छ । यो वर्ष आफूले ५० हजारको आलु बिक्री गरेको उनले बताए ।
आलु उत्पादनबाट गाउँमा वर्षेनी १० देखि १५ करोड भित्रिने गरे पनि सुरक्षित भण्डारको व्यवस्था नहुँदा किसान समस्यामा परेको वडा न १२ का वडाध्यक्ष दीपक वलीले बताए । गाउँका सबैले आलु खेती गर्ने गर्छन् । भण्डार गर्ने ठाउँ नहुँदा सिजनमा सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता र पछि अन्य ठाउँको आलु महँगोमा खानु पर्ने बाध्यता रहेको उनको भनाई छ । उनले भने जिल्लामा एउटा मात्र कोल्ड स्टोर भइदिएको भए किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको भण्डारण गर्न निकै सहज हुने थियो ।





.jpg)