ट्रेण्डिङ

होमपेज / अर्थ

बिरुवा बिक्री नभएपछि समस्यामा सल्यानका नर्सरी व्यवसायी

  सल्यान खबर डेस्क २०७८ श्रावण २२ गते शुक्रबार १२:००:०७ मा प्रकाशित

सल्यान : नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका विरुवा बिक्री नहुँदा सल्यानका नर्सरी सञ्चालक समस्यामा परेका छन्।

लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहरुले आफैं नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुरलगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका विरुवा बिक्री हुन छाडेको हो।

नर्सरीका विरुवा खरिद गर्ने दलाल र संघ संस्थाको मिलेमतोका कारण यो वर्ष विरुवा बिक्री हुन नसकेको बागचौर नगरपालिका–२ का टीकाराम वलीले बताए। पाँच रोपनीमा उत्पादन गरेको विरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको उनको भनाइ छ।

एक लाख ५० हजार विरुवा उत्पादन गरेको भए पनि अहिलेसम्म ३० हजारमात्र विरुवा बिक्री भएको उनले गुनासो गरे। उनले भने‚ ‘सस्तोमा पाए जस्तो पनि विरुवा लग्ने तर १०/१२ रुपैयाँ प्रतिविरुवा भन्दा लिन आनीकानी गर्ने सबैभन्दा बढी दलालले गर्ने समस्या भएको छ।’

गत वर्ष चार लाख ५० हजार विरुवा बिक्री गरेका बागचौर नगरपालिका–९ डाँगीगाउँका टोपेन्द्र डाँगीले यो वर्ष भने मुस्किलले ४० हजार बिक्री गर्न सकेको बताए। ‘विगतका वर्षहरुभन्दा नर्सरी गर्नेहरुको संख्या पनि बढिरहेको छ‚’ उनले भने‚ ‘यस्तै प्रायः स्थानीय तहहरुले पनि आफैं नर्सरी राखेकाले पनि विरुवा बिक्री गर्न समस्या भइरहेको छ।’

विरुवा बिक्री गर्न समस्या हुन्छ भन्ने थाहा पाएर यो वर्ष १ लाख मात्र विरुवा उत्पादन गरेको भएपनि ६० हजार विरुवा अझै बारीमै रहेको उनको भनाइ छ। कृषि विकास कार्यालय सल्यानका अनुसार नर्सरीबाट सल्यानका किसानले वार्षिक ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top