ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड बजेट फ्रिज

  सल्यान खबर डेस्क २०७८ श्रावण १० गते आइतबार १६:५८:१९ मा प्रकाशित

साउन १०,सल्यान 
सल्यानमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ । कोरोनाका कारण जिल्लाका १० स्थानीय तह र दर्जन सरकारी कार्यालयबाट ठूलो मात्रामा रकम फ्रिज गएको हो । 

गत आवमा संघबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेशबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार गरी ६ अर्ब २६ करोड २९ लाख रुपैयाँ बजेट आएको थियो । जिल्लामा संघीय बजेटअन्तर्गत पुँजीगततर्फको २८ करोड ५७ लाख, विशेष अनुदानमा ३९ लाख, र समपूरकमा ३६ लाख ६१ हजार रुपैयाँ फिर्ता गएको छ ।
त्यस्तै, प्रदेश सरकारअन्तर्गत पुँजीगतमा ७७ करोड २७ लाख र चालु तर्फ २७ करोड ६९ लाख १७ हजार बजेट फ्रिज गएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको ६ करोड ७० लाख, बागचौर नगरपालिकाको ६ करोड ३५ लाख, शारदा नगरपालिकाको ९ करोड ४० लाख बजेट फ्रिज गएको छ ।

यस्तै  कपुरकोट गाउँपालिकाको २ करोड ५३ लाख र कालीमाटी गाउँपालिकाको ४ करोड ७० लाख,कुमाख गाउँपालिकाको ७६ लाख, छत्रेश्वरी गाउँपालिकाको १ करोड ९६ लाख, सिद्धकुमाख गाउँपालिकाको २ करोड ४४ लाख, त्रिवेणी गाउँपालिकाको ५ करोड ७० लाख र दार्मा गाउँपािलकाको ६५ लाख रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कमलसिं भण्डारीले बताए । बजेटको अख्तियारी ढिलो गरी आउनु, विकासे काममा ढिलाइ हुनु, कर्मचारी अभाव र कोरोनाका कारण यो वर्ष ठूलो बजेट फ्रिज गएको उनको भनाइ छ । 

गत आ.व.मा  कर्णाली प्रदेश सरकारले सल्यानका लागि २ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये १ अर्ब ९५ लाख मात्र खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जुन करिब ६३ प्रतिशत मात्र हो ।

स्थानीय तहले कोरोना महामारीकै कारण सरकारले उपलब्ध गराएको बजेटअनुसार काम गर्न नसकिएको जनाएका छन् ।  शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले महामारीका कारण झन्डै दुई दर्जन योजनामा काम हुन नसकेको बताए । सरकारले बजेट समयमै नपठाउँदा पनि बजेट फिर्ता जानुका साथै कोरोना महामारीका कारण बीचमा काम रोकिएपछि झन्डै ८० प्रतिशत योजनाको काम मात्र भएको उनले बताए । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top