ट्रेण्डिङ

होमपेज / अर्थ

नर्सरीबाट आत्मनिर्भर बन्दै सल्यानका किसान

  सल्यान खबर डेस्क २०७८ असार ३१ गते बिहीबार १७:१५:२३ मा प्रकाशित

सल्यान — ३ वर्षअघिसम्म बारीमा लगाएको सुन्तलाको बेर्ना बिक्री गर्न बाग्चौर नगरपालिका–९ कोटमौलाका खुमराज डाँगीलाई निकै सास्ती थियो । उनले यो वर्ष झन्डै २ लाख रुपैयाँको बेर्ना घरबाटै बिक्री गरिसकेका छन् । उनका छिमेकी विवेक ओलीले पनि साढे ३ लाख रुपैयाँका सुन्तला, कागती, किबी, ओखर र टिमुरका बेर्ना दाङ पठाएका छन् । 

व्यापारी र किसानले नर्सरीबाटै बेर्ना किन्न थालेपछि कोटमौला र डाँगीगाउँ अधिकांश घरमा नर्सरी स्थापना गरिएका छन् । बजारको समस्या नभएपछि किसानहरू नर्सरीबाट आत्मनिर्भर भएका हुन् । गत वर्ष डाँगीले बेर्ना बिक्रीबाट १० लाख र ओलीले ४ लाख रुपैयाँ आम्दानी गरे । सल्यानका किसानले उत्पादन गरेका फलफूल र अन्य बिरुवा प्यूठान, रोल्पा, रुकुम, सुर्खेत, दाङ, नेपालगन्ज, अर्घाखाँचीलगायत जिल्लामा खपत भइरहेको छ । गत वर्ष ५ लाख रुपैयाँ कमाइ गरेका किसान ढोलकबहादुर डाँगीले बर्सेनि नर्सरीको क्षेत्रफल बढाउँदै लगेको जानकारी दिए । उनले विशेष गरी सुन्तला र कागतीको बेर्ना उत्पादन गरिरहेका छन् । डाँगी गाउँका ४४ घर परिवारले नर्सरी स्थापना गरेको उनले जानकारी दिए । उनका अनुसार गाउँबाट वर्षमा झन्डै १ करोड रुपैयाँका फलफूलको बिरुवा उत्पादन भइरहेका छन् ।

नर्सरीबाट प्रतिपरिवार वार्षिक ३ देखि १० लाख रुपैयाँसम्म आम्दानी भइरहेको डाँगीले बताए । उनका अनुसार एउटा बिरुवा १८ देखि ५० रुपैयाँमा नर्सरीबाटै बिक्री भइरहेको छ । डाँगीले ३ रोपनी जग्गामा नर्सरी बनाएका छन् । सुन्तला र कागतीको बेर्ना विभिन्न जिल्लामा जान थालेपछि किसानको जीवनस्तर उकासिएको उनको भनाइ छ । विगत वर्षमा भारतका विभिन्न स्थानमा मजदुरीका लागि जाने किसानले अहिले गाउँमै रोजगारी पाइरहेको उनले बताए ।

सुन्तला र कागतीका बेर्नाबाट कोटमौलाका अधिकांश किसानले राम्रो आम्दानी गरिरहेको अगुवा किसान भरतनाथ योगीले बताए । उनका अनुसार डाँगी गाउँमा झन्डै ४० रोपनी जग्गामा नर्सरी स्थापना गरिएको छ । सुन्तला उत्पादनका लागि नमुना मानिने कोटमौलामा ३० किसानले नर्सरी दर्ता गरी बिरुवा उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । फलफूल खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा बेर्ना वितरण गरिरहेको कार्यालयका सूचना अधिकारी रेशम  बस्नेतले बताए । उनका अनुसार सल्यानका किसानले वार्षिक झन्डै ६ करोड रुपैयाँको फलफूलका बेर्ना उत्पादन गरिरहेका छन् ।

ekantipur 

प्रतिक्रिया

सम्बन्धित खवर

Top