ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका किसान लसुन खेतीमा आकर्षित

  सल्यान खबर डेस्क २०७८ असार २५ गते शुक्रबार १६:४८:४५ मा प्रकाशित

सल्यान : छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन्। 

चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताए। लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको अनुभव छ। उनले यस वर्ष पाँच क्विन्टल लसुन बिक्री गरेको बताए। च्युरीगैराका २६ घरधुरीलेनै लसुन खेती गर्दै आइरहेका छन्।

किसान दुर्गाबहादुर पुनले प्रतिक्विन्टल १० हजार रुपैयाँमा घरबाटै लसुन बिक्री गरेको बताए। उनले चार क्विन्टल लसुन बिक्री गरेको बताए। लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले उनले बताए। तर, उत्पादिन लसुन लामो समयसम्म राख्दा तौल घट्ने, उम्रने तथा कुहिने समस्या आउने भएकाले भण्डारणका लागि उचित ठाउँको व्यवस्था हुनुपर्ने उनले माग गरे।

अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने किसान लसुनखेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको पुनले बताए। उनले भने, ‘हिउँदमा लसुन लगाएर रामै्र आम्दानी गर्न थालेका छौं। अन्नबालीभन्दा धेरै गुणा आम्दानी लसुनबाट हुने गरेको छ।’
 
सल्यानमा ५१० हेक्टर क्षेत्रफलमा लसुन खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतलले जानकारी दिए। गत आर्थिक वर्ष ३ हजार १५२ मेट्रिकटन लसुन उत्पादन भएको कार्यालयको तथ्यांकमा छ। कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा लसुन खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top