होमपेज / अर्थ
असार २४,सल्यान
व्यवसायिक पशुपंक्षीपालन गर्दै आइरहेका किसानलाई सल्यानको त्रिवेणी गाउँपालिकाले अनुदान वितरण गरिएको छ ।
आधारभूत तहका किसानको आयआर्जन बढाउने उद्देश्यले व्यवसायिक भैसी, बाख्रा र कुखुरा पालन गर्दै आइरहेका १ सय १ किसानलाई अनुदान वितरण गरिएको हो । बिहीबार एक कार्यक्रमका बिच कृषकहरुलाई अनुदान वितरण गरिएको हो ।
महिनामा दुई सय लिटर दूध उत्पादन गर्ने १३ किसानलाई २ लाख ९ हजार ५ सय, वार्षिक ५ वटा जिउँदो खसीबोका बिक्री गर्ने ८९ कृषकलाई २ लाख ६९ हजार ५ सय र मासिक २ हजार अण्डा उत्पादन गरी बिक्री गर्ने १ किसानलाई २० हजार अनुदान प्रदान गरिएको गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए । चालु आर्थिक वर्षमा व्यवसायिक पशुपंक्षी पालन बिक्री वितरण गरेका किसानलाई अनुदान प्रदान गरिएको उनको भनाई छ ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तरगत किसानलाई अनुदान दिइएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । किसानलाई पशुपंक्षपालन तर्फ आकर्षित गर्न गाउँपालिकाले दूध, अण्डा र खसीबोका उत्पादन गर्ने किसानलाई अनुदान दिदै आइरहेको उनको उनको भनाई छ ।
गत आर्थिक वर्षमा दूध उत्पादन तर्फ २३ किसानलाई २ लाख ५६ हजार २ सय ९५, खसीबोका उत्पादन तर्फ ५७ जनालाई २ लाख ३९ हजार र अण्डा उत्पादन तर्फ २ जनालाई ६६ हजार ७ सय ६२ रुपैयाँ अनुदान दिइएको थियो ।
अनुदान पाउँदा कृषि पेसामा संलग्न किसानहरुलाई निकै सहज भएको खोपिराम भण्डारीले बताए । कृषि पेसामा संलग्नलाई प्रोत्साहन गर्न यस प्रकारका अनुदान कार्यक्रम निकै प्रभावकारी हुने उनको भनाई छ ।





.jpg)