होमपेज / अर्थ
सल्यान, २१ असार ।
व्यवसायमा सहयोग पुर्याउने उद्देश्य सहित सल्यानमा लघु उद्यमीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले तरकारी खेती तथा बाख्रा पालन गरिरहेका लघु उद्यमीहरुलाई सोमबार प्रविधि हस्तान्तरण गरेको हो ।
गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सोमबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले व्यवसायिक तरकारी खेति गरिरहेका २५ जना लघु उद्यमीहरुलाई खेतिका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका प्रविधिमा थोपा सिंचाई प्रविधि, स्प्रे टंकी, पञ्जा, मास्क, एप्रोन तथा बुट रहेका छन् । प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएको सामग्रीलाई आफैले किनेको सोचेर उपयोग गर्न आग्रह गरे । पालिकालाई समृद्धि तर्फ लैजान कृषि क्षेत्रको विकासमा जोड दिने पर्ने सेनले बताए । गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालिम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताए । यसबाट गाउँपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौँतारिँदै हिँड्नु नपर्ने उनले बताए ।
यस्तै कपुरकोट गाउँपालिकामा बाख्रापालन व्यवसाय गरिरहेका ४२ जना उद्यमीलाई खोर निर्माणका लागि जस्ता पाता प्रदान गरिएको छ । प्रति उद्यमी १ बण्डलका दरले ४२ जनालाई जस्ता पाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जनाए । गाउँपालिकामा दर्ता भएका लघु उद्यमीहरुलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरु वितरण गरिएको उनले जनाए ।
संयोजक शाहीका अनुसार कपुरकोटका ६ वटै वडाहरुमा सिप विकास तालिम पनि सञ्चालन गरिएको छ । साबुन बनाउने तालिम, पशुपालन तालिम, च्याउ खेती तालिम तथा च्याउको विउ वितरण, कटाई सिलाई तालिम संगै मेसिन वितरण जस्ता कार्यक्रमहरु चालु आर्थिक वर्षमा सम्पन्न गरिएको उनले बताए ।





.jpg)