होमपेज / अर्थ
चैत २,सल्यान
सल्यानबाट चालु आर्थिक वर्ष २०७७/०७८ मा चार करोडको बुर्नी अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ८ सय २५ मेटिक्टन बुर्नी अदुवा उत्पादन भएको छ ।
बेमौसमी उत्पादन भएकाले किसानहरुले बुर्नी अदुवाको राम्रो मूल्य पाएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । उत्पादित अदुवा मध्ये ५ मेटिक्टन अदुवा जिल्ला भित्र नै खपत हुने गरेको छ भने वाँकी ८ सय २० मेटिक्टन बुर्नी जिल्ला बाहिर निकासी भएको बस्नेतको भनाई छ । जसबाट जिल्लामा ४ करोड १ लाख रुपैयाँ भित्रिएको छ । बुर्नी बेमौसममा निकालिने भएकाले किसानले राम्रो मुल्य पाउने गरेको बस्नेतले बताए ।
विगतका वर्षझै व्यावसायिक रुपमा अदुवा खेती गर्ने किसानहरुको संख्यामा कमी भएको कार्यालयले जनाएको छ । अदुवाले उचिव मुल्य नपाउँदा किसानहरुले व्यावसायिक खेती गर्न आकर्षित हुन नसकेको जनाएको छ ।
सल्यानमा गत आर्थिक वर्षमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेतीबाट २५ हजार ८ सय मेटिक्टन उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण जोन कार्यक्रम तथा कृषि विकास कार्यालयकै विभिन्न ब्लक कार्यक्रम मार्फत अदुवा खेती तर्फ किसानहरुलाई आर्कषित गर्ने कार्यक्रम गरी रहेता पनि मुल्यको उचारचडावका कारण किसान निरुत्साहित हुँदै गइरहेका छन् ।