ट्रेण्डिङ

होमपेज / अर्थ

मासुमा आत्मनिर्भर बन्दै सल्यान

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ३ गते सोमबार १७:१९:१९ मा प्रकाशित

फागुन ३,सल्यान
सल्यानमा मासुमा आत्मनिर्भर बन्दै जान थालेको छ । कुखुरा र खसिबोकाको मासुमा जिल्ला आत्मनिर्भर रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । 
व्यावसायिक पशुपंक्षी पालनको विकाससँगै जिल्ला मासुमा आत्मनिर्भर बनेको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

 पशुपंक्षीजन्य बस्तुमा आत्मनिर्भर भई सल्यानबाट निकासी समेत हुने गरेको उनको भनाई छ । उनले भने ‘जिल्लाबाट दैनिक ५० देखि १०० सम्म खसीबोका जिल्ला बाहिर निकासी हुने गरेका छन् ।’ सल्यानका खसीबोका बढी मात्रामा काठमाण्डौ निकासी हुने गरेका छन् । सल्यानका खसीबोका अन्य जिल्लाको तुलनामा केही महंगो हुने भएकाले पनि व्यापारीहरुले काठमाण्डौ लिने गरेको कार्यालयले जनाएको छ । 

जिल्लामा ८ हजार ४ सय ९६ मेटिक्टन खसीबाख्रा र ५ हजार ४ सय ८५ मेटिक्टन गरी १३ हजार ९ सय ८१ मेटिक्टन मासु उत्पादन हुने गरेको उपाध्यायको भनाई छ । ८४ लाख ९६ हजार किलो खसीबाख्राको मात्र मासु उत्पादन हुँदै आइरहेको उनको भनाई छ ।  उनले भने ‘जिल्लामा व्यावसायिक बाख्रा र कुखुरापालक कृषकको संख्यामा वृद्धि आउनु, वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायमा लाग्नुले जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन मद्यत गरेको छ ।’ 

कार्यालयका अनुसार जिल्लामा हाल ४ लाख ९६ हजार ४ सय ६९ बाख्रा, २६ हजार ७ सय ४७ भेडा, ६ लाख ७ हजार ९ सय ४६ कुखुरा, १७ हजार ७ सय ८१ सुंगुर बंगुर रहेका छन् । यस्तै ६९ हजार २ सय ८४ भैसी राँगा, २ हजार ८ सय ३९ हाँस रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top