ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा आधा पनि बिक्री भएन सुन्तला

  सल्यान खबर डेस्क २०७७ माघ १६ गते शुक्रबार १६:४३:३८ मा प्रकाशित

सल्यान : माघ महिना आधी सकिँदा समेत सुन्तला बिक्री नहुँदा सल्यानका किसान निरास भएका छन्। विगतमा वर्षहरुमा पुस अन्तिम सातासम्म बिक्री भइसक्थ्यो।

यस वर्ष सुन्तलाको आकार सानो हुनु, ढिलो पाक्नु तथा स्थानीय व्यापारीको सिन्डिकेटका कारण समयमै सुन्तला बजारमा पुग्न नसकेको किसानहरुको भनाइ छ। कोरोनाका कारण जिल्लाबाहिरबाट थोक व्यापारी नआउँदा सुन्तला बारीमा नै रहेको बागचौर नगरपालिका–९ का किसान अंगेश्वर डाँगीले बताए।

यो वर्ष सुन्तलाको आकार निकै सानो हुँदा पनि सुन्तला किन्न व्यापारी अग्रसर नभएको किसान कालीबहादुर चन्दले बताए। ‘गत वर्षहरुमा यतिबेलासम्म सुन्तला बिक्री भइसकेका हुन्थे,’ उनले भने, ‘तर यस वर्ष भने आधाभन्दा बढी सुन्तला बारीमै छन्।’

किसान चन्द्रबहादुर डाँगीका अनुसार सुन्तलालाई आवश्यक परेको समयमा बजारमा मलखाद नपाएको र आवश्यक परेको समयमा पानी नपरेकाले यस साल सुन्तलाका दाना निकै सानो फलेको छ। जसका कारण व्यापारीहरु किन्न नआएको हुन सक्ने उनको बुझाइ छ। गत वर्ष ३० क्विन्टल बिक्री गरेका डाँगीले यस वर्ष मुस्किलले १० क्विन्टल बिक्री गर्ने अनुमान गरेको बताए।

जलवायु परिवर्तन, हिउँदे वर्षा नहुनु, सिट्रेससिल्ला रोगको प्रकोपका कारण सुन्तलाको उत्पादन घट्नुका साथै बजारीकरण नभएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। गत वर्ष सल्यानबाट पाँच हजार ३४४ मेट्रिक्टन सुन्तला निर्यात भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। उक्त सुन्तला बिक्रीबाट करिब २७ करोड रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत कम अर्थात् तीन हजार ७४१ मेट्रिक्टन मात्र सुन्तला निकासी हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। सल्यानमा एक हजार ५२० हेक्टर क्षेत्रफल सुन्तला खेती हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top