होमपेज / अर्थ
पुस २५,सल्यान
सल्यानमा यस वर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
फूल फूल्ने र दाना लाग्ने समयमा भएको वर्षाका कारण यो वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान कार्यालयले गरेको हो ।
जिल्लाका बागचौर नगरपालिका, दार्मा गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिका लगायतका स्थानमा व्यावसायिक रुपमा सुन्तला खेती हुने गरेको छ । अघिल्लो वर्ष सल्यानमा ९ सय ८० हेक्टरमा भएको खेतीबाट १० हजार ६ सय ९० मेटिक्टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
विगतका वर्षहरुमा गुणस्तरिय र अत्याधिक सुन्तला उत्पादन हुने स्थानमा सुन्तला निकै पातलो र ढिला पाकेको उनको भनाई छ । फल लाग्ने समयमा वर्षा हुनु र दाना पनि सानो रहेको किसानहरुले बताएका छन् ।
विगतको वर्षभन्दा यो वर्ष आधा भन्दा बढीले उत्पादन घटेको बागचौर नगरपाकिला ८ का किसान भरतनाथ योगीले बताए । गत वर्ष झन्डै २१ करोडको सुन्तला बिक्री गरेको योगीले यो वर्ष ५/ ६ पनि हुन्छ की हुँदैन निश्चित नभएको बताए ।
पुराना बोटहरु सुक्दै जानु, काँटछाँटको अभाव, दाना लाग्ने समयमा धेरै पानी पर्नु जसका कारण ढिला सुन्तला पाक्नु लगायतका कारण उत्पादनमा कमी आएको योगीको भनाई छ ।