ट्रेण्डिङ

होमपेज / अर्थ

ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

  सल्यान खबर डेस्क २०७७ पौष ११ गते शनिबार २०:२८:२७ मा प्रकाशित

ग्रिल तथा स्टील व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वाभाविक रूपमा बढाएका छन् । 

व्यवसायीहरूको छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अत्यधिक अनियन्त्रित र अस्वाभाविक रूपमा बढेको बताएका हुन्। 

जसका कारण व्यवसाय नै धराशयी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ का कारण बन्द भई मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । 

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्याेगको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए । 

ग्रिलजन्य फलामको मूल्य अस्वाभाविक रूपमा बढ्दा कोरोना संक्रमणका कारण प्रभावित आमउपभोक्तासमेत मारमा परेको अध्यक्ष कटुवालले बताए । 

यसबाट देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्याेग बन्द हुने जोखिममा रहेको पनि उहाँले बताउनुभयो । यस्तै, करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए । 

बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षणसमेत गराए । व्यवसायीहरूले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन् । 

नेपालमा ग्रिल व्यवसायले मात्रै वार्षिक ५० अर्ब भन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top