ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको किविले बजार पाएन

  सल्यान खबर डेस्क २०७७ कार्तिक १४ गते शुक्रबार १८:१६:५४ मा प्रकाशित

सल्यान — छत्रेश्वरी गाउँपालिका–२, गुराँसेका तेजबहादुर योगीले ३२ रोपनी जग्गामा ६ सय ५० बोट किवी लगाएका छन् । गत वर्ष किवी बिक्रीबाटै २० लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्ष किवी बेच्न सकेका छैनन् । उनका छिमेकी चित्रबहादुर केसीको किवी पनि बारीमै थन्किएको छ ।

कोरोना महामारीका कारण बाहिरबाट व्यापारी नआएपछि गुराँसेका झण्डै २ दर्जन व्यावसायिक किसान समस्यामा परेका छन् । व्यापारी नआउँदा उनीहरुले बारीको किवी टिप्नै सकेका छैनन । ‘बिक्री हुने निश्चित नभएपछि टिपेर मात्र के गर्ने ?,’ योगीले भने, ‘आफै बाहिर लगेर बिक्री गर्ने स्थिति पनि छैन ।’ उनका अनुसार गुराँसेमा मात्रै झन्डै ५० लाख रुपैयाँको किवी बारीमै थन्किएको छ । गत वर्ष कात्तिक पहिलो साता नै उनले एक गाडी किवी बिक्री गरिसकेका थिए ।

गत वर्षसम्म किवी खरिद गर्न व्यापारीहरु गाउँमै आउँथे । ‘अहिलेसम्म कसैले पनि किवी चाहियो भनेर फोन गरेका छैनन्,’ केसीले भने, ‘२/३ सातामै किवी बिक्री नभए परिवार कसरी पाल्ने ?’ कोरोना महामारीका कारण व्यापारी खोज्दै बाहिर जान नसकिएको उनको गुनासो छ ।

४ सयमध्ये २ सय ५० बोटमा फलेको किवी बेचेर गत वर्ष करिब ४ लाख रुपैयाँ कमाएका डिल्लीबहादुर खत्रीले किवी टिप्नै आँट नगरेको बताए । ‘पोहरसम्म स्थानीय बजारमा पनि आधा उत्पादन खपत भएको थियो,’ उनले भने, ‘यो साल ठूला व्यापारी नआएपछि स्थानीय खरिदकर्ता पनि किवी किन्न डराएका छन् ।’ उनका अनुसार गतवर्ष स्थानीय बजारमा न्यूनतम २ सय रुपैयाँमा किवी बिक्री भएको थियो । उत्पादित किवी कुहिएर जाने जोखिम बढेको भन्दै उनले सरकारी निकायसँग बजारिकरणको माग गरे ।

कृषि विकास कार्यालयले गुराँसेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । गाउँका २ दर्जन किसान परिवार गत वर्षसम्म किवीबाटै आत्मनिर्भर थिए । कोल्डस्टोर नहुदा बारीको किवी टिप्न नसकेको किसानको गुनासो छ । सल्यानमा २०५८ सालबाट व्यावसायिक किवीखेती थालिएको हो । जिल्लामा करिब १ हजार रोपनी जग्गामा ४ हजार ५ सय किवीका बिरुवा लगाइएको कार्यालयले जनाएको छ ।

Ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top