ट्रेण्डिङ

होमपेज / अर्थ

विद्युतीय घट्ट बिक्रीबाट मनग्य आम्दानी गर्दै सल्यानका के.सी.

  सल्यान खबर डेस्क २०७७ आश्विन १६ गते शुक्रबार १३:०७:३३ मा प्रकाशित

असोज १६, २०७७ सल्यान : त्रिवेणी गाउँपालिकाका २९ वर्षीय घनश्याम केसीले विद्युतीय घट्ट बिक्रबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्।

पानीविना बिजुलीको माध्यमबाट चल्ने घट्ट बनाएर उनले बिक्री गर्दै आएका छन्। पानी कम भएको ठाउँका लागि विद्युतीय घट्ट प्रभावकारी भएको उनको भनाइ छ।

सल्यानका डाँडामा रहेको बस्तीका बासिन्दाहरु कुटानी पिसानी गर्न खोलामा झर्नु पर्ने बाध्यता देखेर विद्युतबाट चल्ने घट्ट बनाएको उनले बताए। उनले विद्युत पुगेका सबै ठाउँमा उक्त घट्ट चल्ने बताए।

त्रिवेणी–३ दाङचुली घर भएका केसीले सल्लीबजारमा कालिका इन्जिनियरिङ उद्योग सञ्चालन गरी घट्ट निर्माण गर्दै आइरहेका छन्। सुरुमा आफ्नै घरमा सफल परीक्षण गरेपछि उद्योग नै सञ्चालन गरी निर्माण तथा बिक्री वितरण गर्दै आइरहेको उनले बताए। एक जोडी विद्युतीय घट्ट ७० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको केसीले बताए।

उनले यस वर्ष १७ वटा घट्ट बिक्री गरेका छन्। पानी घट्टमा पिसेको र विद्युतीय घट्टमा पिसेको अन्नमा कुनै फरक नपर्ने उनको भनाइ छ। पानी घट्टमा लाग्ने जाँतो नै यसमा प्रयोग हुने तर पानीको ठाउँमा घट्ट घुमाउन बिजुली प्रयोग हुन्छ। पुरानो पानी घट्टलाई आधुनिक घट्टमा विकास गरेको उनको भनाइ छ।

विद्युतीय घट्टले एक घण्टामा कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथीसम्म पिस्न सक्ने उनको भनाइ छ । 

एक जनालाई रोजगारी

कालिका इन्जिनियरिङ उद्योग सञ्चालन गरेका केसीले एकजनालाई रोजगारी समेत दिएका छन्। रुकुम पश्चिमको चौरजहारी र सल्यान सल्लीबजारमा उद्योग नै खोलेका उनले एकजनालाई रोजगारी दिएका छन्। 

पानी घट्टभन्दा विद्युतिय घट्ट निकै सजिलो र पानी पनि नचाहिने भएकाले अन्नपात पिस्न निकै सहज भएको बनगाड कुपिण्डे नगरपालिका–८ का रामबहादुर यरीले बताए। पानी घट्टका लागि टाढा जानु पर्ने र १/२ दिन बास बसी पिसेर आउनुपर्ने बाध्यता हटेको स्थानीय दुजी बुढाथोकीले बताए।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top