ट्रेण्डिङ

होमपेज / अर्थ

बजार नपाएपछि बारीमै कुहियो टमाटर

  सल्यान खबर डेस्क २०७७ असार २८ गते आइतबार १३:५२:१५ मा प्रकाशित

असार २८, सल्यान

झन्डै एक दशक अघिदेखि तरकारी खेती गर्दै आएका दार्मा गाउँपालिका ५ आलका भुम बहादुर चन्दले अहिलेको जस्तो समस्या कहिल्यै भोगेका थिएनन् ।

 १५ रोपनी क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी र टमाटर खेती गर्दै आएका चन्दको उत्पादन भएको सबै स्थानीय बजार र दाङमा विक्री हुन्थ्यो ।

अन्य तरकारी भन्दा टमाटर खेतीबाटै उनले राम्रो आम्दानी गर्दै आइरहेका थिए । तर यस वर्ष भने कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गर्दा व्यापारीहरू नआउँदा बारीमा उत्पादन भएको टमाटर बारीमै कुहिएको छ ।

बन्दाबन्दीले व्यापारी नआउँदा आफ्नो १५ रोपनीमा लगाएको टमाटर बारीमै कुहिएको बताए । उनले भने ‘अन्नबाली हुने बारीमा तरकारी खेती लगाइयो तर यो वर्ष बिउको मूल्य पनि उठेन ।’ १५ रोपनीमा लगाइएको टमाटरबाट १० लाख भन्दा बढी आम्दानी हुने भए पनि यो वर्ष एक किलो पनि विक्री नभएको चन्दले बताए ।

तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आए पनि उत्पादन भएको सबै बारीमै कुहिए पछि घर खर्च चलाउन नै मुस्किल भएको अर्का कृषक रामकृष्ण चन्दले बताए । उनले भने ‘बन्दा बन्दी र लगातारको वर्षातका कारण बारीमा लगाएको सबै टमाटर कुहिएको छ ।’

गाउँका झन्डै एक दर्जन किसानले लगाएको टमाटर बारीमै रहेको उनको भनाई छ । आफ्नो आम्दानीको स्रोत नै बन्द भएपछि आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न दार्मा गाउँपालिकालाई आग्रह गरिएको चन्दले बताए । किसानहरूले उत्पादित तरकारी विक्री गरिदिने वातावरण बनाइदिन आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top