होमपेज / समाज
सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा प्रहरीले अवैध रूपमा लुकाइछिपाई राखिएको सात नाल भरुवा बन्दुक बरामद गरेको छ।
बनगाड कुपिन्डे– १२ स्थित भदाले सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक सात थान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सामुदायिक वनमा खोजतलास गर्ने क्रममा एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। बरामद गरिएका भरुवा बन्दुक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको उको भनाइ छ।
अवैध रूपमा बालुवा ओसारपसार गर्दै गरेको टिपर नियन्त्रणमा
यस्तै, जिल्लाको कुमाख गाउँपालिका– ३, रागेचौरमा चेकजाँचका क्रममा अवैध रूपमा बालुवा ओसारपसार गर्दै गरेको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रागेचौर सल्यानबाट खटिएको प्रहरी टोलीले कुमाख गाउँपालिका– ४, घाटाचौरबाट कुमाख– ३, चिसापानीतर्फ आउँदै गरेको क.प्र.२–००१ क ०८९९ नम्बरको टिपर नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा टिपरमा अवैध रूपमा ल्याउँदै गरेको बालुवा फेला परेपछि टिपर र बालुवा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। टिपरका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ८, कालिन्चोक बस्ने ४३ वर्षीय मीनबहादुर मर्सांगी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको टिपर तथा बालुवालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी भट्टराईले बताए।





.jpg)