ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा धानबालीमा पातबेरुवा र गभारो किराको प्रकोप

  सल्यान खबर २०८३ भाद्र ६ गते शनिबार ०६:५७:३७ मा प्रकाशित

सल्यानका विभिन्न क्षेत्रमा धानबालीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन्।कालीमाटी गाउँपालिकाका विभिन्न ठाउँमा धानबालीमा पातबेरुवा र गभारो किरा देखिएको हो। कालीमाटी गाउँपालिका– २ निवासी अमर वलीले करिब पाँच रोपनी धानबालीमा पातबेरुवा किराको प्रकोप देखिएको बताए। किराले धानको पात बेरिने र धान बढ्न नसकेको उनको भनाइ छ । यसैगरी, खिमा पुनको करिब चार रोपनी धानबालीमा समेत किराको प्रकोप देखिएको छ। आफ्नो सबै बारीमा यसप्रकारको समस्या देखिएको उनकाे भनाइ छ। 

कालीमाटी गाउँपालिका कृषि प्राविधिक केशव थापाका अनुसार धानबालीमा अनुगमन गर्दा गभारो किरा र पातबेरुवाको समस्या देखिएको छ । धानको डाँठभित्र लार्भा भेटिनुका साथै गुभाे सुक्ने समस्या देखिएको उनकाे भनाइ ।  कृषि प्राविधिक थापाका अनुसार धानबालीमा विभिन्न प्रकारका किराको प्रकोप देखिन थालेकाले किसानले नियमित रूपमा खेतको अनुगमन गर्न आवश्यक छ । विशेषगरी पातबेरुवा र गभारो किराको सुरुवाती अवस्थामै पहिचान गरी नियन्त्रणका उपाय अपनाउन सके उत्पादनमा हुने क्षति कम गर्न सकिने उनले बताए। 

किसानलाई खेतवरपरका झारपात हटाउने, धानबालीलाई आवश्यक मल तथा पोषक तत्त्व उचित समयमा प्रयोग गर्ने र किराको प्रकोप बढ्दै गएमा कृषि प्राविधिकको सल्लाहअनुसार आवश्यक व्यवस्थापन विधि अपनाउन सुझाव दिइएको कालीमाटी गाउँपालिका कृषि शाखा प्रमुख ओजस्वी उपाध्यायले बताए ।

उनका अनुसार रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा विषादीको लेबलमा उल्लेखित मात्रा र प्रयोग विधि पालना गरी मात्र प्रयोग गर्नुपर्छ। जथाभावी विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा वातावरणमा असर पर्न सक्ने भएकाले प्राविधिकको सल्लाह लिन किसानलाई आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top