होमपेज / समाज
असार २०,सल्यान
सल्यानको कालिमाटी गाउँपालिका–४ खैरेनीस्थित शारदा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४ ज्यामिरे निवासी ४६ वर्षीया सीता विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विक बिहान स्थानीय टेकबहादुर परियारको घरमा धान रोप्ने कामका गएको र रोपाइँ सकिएपछि साँझ करिब ५ बजे एक्लै शारदा नदीमा नुहाउन क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो ।
धेरै समयसम्म घर नफर्किएपछि उनकी १७ वर्षीया छोरी रुपा सुनारले खोजी गर्ने क्रममा नदीको किनारमा पानीभित्र घोप्टो परेको अवस्थामा आमालाई देखेकी थिइन । त्यसपछि स्थानीयवासीको सहयोगमा उनलाई नदीबाट बाहिर निकालिएको भए पनि घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकका श्रीमान् र एक छोरा रोजगारीका सिलसिलामा भारतमा रहेका छन् । घटनाबारे मृतकको माइती पक्ष, बर्दियास्थित आफन्तलाई समेत जानकारी गराइसकिएको उहाँको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)